विद्यार्थीलाई प्रतिवेदन लेखन अभ्यास गराउँदा आइपरेको समस्या समाधान सम्बन्धी कार्यमूलक अनुसन्धान
समस्याको पहिचान ः
विद्यालयमा अध्ययनरत कक्षा १० का ६६ जना विद्यार्थीहरुलाई दुई सेक्सनमा विभाजन गरिएको छ । दुबै सेक्सनमा ३३ जनाको संख्यामा विद्यार्थीहरु रहेका छन् । सामाजिक विषय पढाउने जिम्मेवारी अनुसार एसएलसी परीक्षामा लामो उत्तरात्मक प्रश्नमा एउटा प्रतिवेदन लेखन सम्बन्धी प्रश्न अनिवार्य सोधिने भएकोले यसको अभ्यास गराउन सान्दर्भिक देखिएकोले सबै विद्यार्थीलाई प्रतिवेदन लेखन अभ्यासमा कसरी सक्रिय बनाउन सकिएला भन्ने शिक्षणमा चुनौति थियो किन भने उनीहरु मध्ये केही संख्यामा बाहेक कसैले पनि प्रतिवेदनलाई सिलसिलाबद्ध रुपमा लेख्ने क्षमता देखाउन सकेनन् । तसर्थ उक्त समस्या समाधान गर्न यो कार्यमूलक अनुसन्धान गरिएको हो ।
पहिलो चरण
योजना
विद्यार्थीहरुको एसएलसी परीक्षामा प्रतिवेदन लेखन अनिवार्य सोधिने प्रश्न भएकोले यसमा सबैलाई सषम हुने गरी अभ्यास गराउने जसको लागि पाठ्यपुस्तकको सामुदायिक कार्य मा दिइएको परियोजना कार्यको योजना तयार गर्न लगाई सोही अनुसार कुनै एउटा स्थानीय संस्थाले गरेका कार्यहरु सम्बन्धी एउटा प्रतिवेदन लेख्न लगाउने योजना तय गरिएको थियो ।
क्रियाकलाप ः
विद्यार्थीलाई क्रमबद्ध रुपमा परियोजना कार्यको योजना निर्माण गर्न लगाई सोही आधारमा अर्कोदिन सम्बन्धित विषयमा प्रतिवेदन लेखेर ल्याउन लगाईयो । एसएलसी परीक्षाको दृष्टिले पनि सबै जना अनिवार्य प्रतिवेदन कार्यमा सक्षम हुनुपर्ने कुरा सम्झाउँदै लेख्न प्रोत्साहन गर्ने कार्य गरियो । नजिकको स्थानीय संस्थाको कार्यालयमा वा सो संग सम्बन्धीत व्यक्तिमार्फत सूचना लिइ प्रतिवेदन तयार गर्न लगाइयो ।
अवलोकनः
विद्यार्थीलाई प्रतिवेदन लेख्न दिइएको निर्देशन अनुसार भोलिपल्ट कक्षामा प्रतिवेदन प्रस्तुत गर्न लगाइयो । यसरी लगाउँदा एउटा सेक्सनबाट २८ जना उपस्थित मध्ये २ जना र अर्को सेक्सनबाट ३१ मध्ये ३ जनाले मात्र प्रतिवेदन लेखेर ल्याएको पाइयो । बाँकी मध्ये केहीले आफ्नै ढञ्गले केही सुरुवात गरे जस्तो गरिएको भएपनि अन्यले कुनै प्रयास नै नगरेको पाइयो ।
प्रतिबिम्बन ः
विद्यार्थीले परीक्षाको दृष्टिबाट प्रतिवेदनलेखनको अभ्यास गर्नु महत्वपूर्ण छ भनेर बुझ्दा बुझ्दै पनि व्यवहारिक रुपमा जीवनमा यसको उपयोगिताको बारेमा बुझन नसकेको कारण यसप्रति उनीहरुको चासो र अभ्यास न्यून रहेको महसुस भयो ।
चरण २
योजना
प्रतिवेदन लेखनको अभ्यास गर्नु र गराउनु परीक्षाको दृष्टिकोणले जति महत्वपूर्ण छ । त्यो भन्दा बढी भोली कुनै रोजगारीको क्षेत्रमा वा सामाजिक गतिबिधिमा समेत महत्वपूर्ण छ भन्ने धारणालाई उपयोग गरी प्रतिवेदन लेखनमा विद्यार्थीमा उत्प्रेरणा बढाउने योजना तय गरिएको थियो ।
क्रियालपाप ः
विद्यार्थीलाई विद्यार्थीलाई भविष्यमा आफू रोजगारी वा जिविकोपाजनको कुन क्षेत्रमा संलग्न हुने इच्छा छ भनि व्यक्तिगत रुपमा जवाफ कागजको टुक्रामा गोत्य रुपमा लेखाइ संकलन गरियो एउटा कक्षामा २७ जना र अर्को सेक्सनका ३२ जनाले आफ्नो जीवनको लक्ष्य लेखेर बुझाए । उक्त लेखाइ अनुसार सुरक्षा निकायमा भर्ना हुने, व्यापारमा लाग्ने, पछि नै सोेचेर केही गर्ने, वैदेशिक रोजगारीमा जाने, कला र साहित्यमा लाग्ने, राजनीतिमा संलग्न हुने, शिक्षक बन्ने, इन्जिनियर बन्ने, नर्स वा डडाक्टर बन्ने, सामाजसेवामा लाग्ने, पत्रकारिता गर्ने, ड्राइभर बन्ने जस्ता लक्ष्यहरु देखिए ।
अर्कोदिन हरेक पेशा वा क्षेत्रमा प्रतिवेदन लेखनको सीप कसरी अत्यावश्क हुन्छ भन्ने विषयमा उदाहरण सहित प्रष्ट पार्ने काम गरियो । विद्यार्थीमा सम्बन्धित क्षेत्रमा प्रतिवेदनलेखनको बोध गराइए पछि अर्को दिनको लागि प्रतिवेदन लेखनको क्रियाकलाप गर्न विभिन्न क्षेत्रसँग सम्बन्धित विषय दिइ त्यस मध्ये कुनै विषयमा एउटा प्रतिवेदन तयारी गर्ने जिम्मेवारी दिइयो ।
अवलोकन ः
विद्यार्थीले कुनै न कुनै विषयमा सबैले आफ्नै ढंगले प्रतिवेदन तयारी गरे । प्रतिवेदनको स्तर सबैको एकनास नभए पनि लेखन अध्यास भने सबैले गरेको पाइयो ।
प्रतिबिम्बन ः
विद्यार्थीलाई कुनै कुराको अभ्यास गराउँदा त्यसको जीवनमा उपयोगिताको सुनिश्चितता गराउनु पर्दछ । किनकि कुनै पनि कुरा विद्यार्थीले किन सिक्ने भन्ने कुरा उनीहरुको मुख्य चासोको सवाल बन्दछ । तसर्थ सिकाइको व्यवहारिक र सकारात्मक उपयोगिताको प्रत्याभुति उनीहरुमा गराउनु पर्दछ । अर्को कुरा आफ्नो इच्चा भएको क्षेत्रसां सम्बन्धित विषयमा उनीहरुको प्रतिवेदन लेखनमा आकार्षण रहेको देखिएकोले जुनसुकै सिकाइलाई जिवनसँग सम्बन्ध गराउँदा मात्र सिकाइ प्रभावकारी हुने महसुस भयो
निश्कर्ष ः
उल्लेखित समस्यामा गरिएको कार्यमूलक अनुसन्धानमा दोश्रो चरणमा पुगेपछि उक्त चरणमै समाधान भएकोले अर्को चरणको पुनर्याेजना आवश्यक भएन र अनुसन्धानको अन्त्य गरियो । विद्यार्थीलाई प्रत्यक्ष र जिवनउपयोगी दृष्टिबाट अभ्यासमा आकर्षिक गराउन सकियो भने उनीहरुको सिकाइमा चासो र सक्रियता बढी हुन्छ भन्ने निश्कर्ष यो अनुसन्धानले दिएको छ ।
समाप्त
शिक्षक, कृष्णप्रसाद ढुङ्गाना
श्री तेर्से माध्यमिक विद्यालय,
मेलम्ची, सिन्धुपाल्चोक


