डिस्लेक्सिया: पहिचान, कारण र समाधान

विद्यालयमा एउटै कक्षामा अध्ययन गर्ने सबै विद्यार्थीले एउटै गतिमा पढ्न, लेख्न वा सिक्न सक्दैनन्  । कतिपय विद्यार्थी अभिव्यक्तिमा राम्रो क्षमता देखाए पनि अक्षर तथा शब्द पहिचान गर्न, पठन प्रवाह कायम गर्न वा सही हिज्जे लेख्न कठिनाइ अनुभव गर्न सक्छन्  । यस्तो कठिनाइमध्ये एउटा महत्त्वपूर्ण अवस्था डिस्लेक्सिया (Dyslexia) हो  ।

डिस्लेक्सिया सामान्यतः पढाइ तथा हिज्जेसँग सम्बन्धित विशिष्ट सिकाइ कठिनाइ हो  । International Dyslexia Association (IDA) को 2025 मा दिएको परिभाषाअनुसार डिस्लेक्सिया शब्द पढाइ वा हिज्जेमा शुद्धता, गति वा दुवैसँग सम्बन्धित कठिनाइका रुपमा बुझिन्छ । यसको प्रकृति व्यक्ति र भाषाको लेखन प्रणालीअनुसार फरक हुन सक्छ ।

सरल भाषामा भन्नुपर्दा, डिस्लेक्सिया भनेको पर्याप्त शिक्षण अवसर र उपयुक्त शिक्षण हुँदाहुँदै पनि शब्द पढ्ने, विसंकेतन गर्ने, पढाइको प्रवाह कायम गर्ने वा सही हिज्जे लेख्ने कार्यमा निरन्तर र उल्लेखनीय कठिनाइ देखिने अवस्था हो । IDA को नयाँ परिभाषाले डिस्लेक्सियामा विशेषगरी शब्द र हिज्जेलाई केन्द्रमा राखेको छ । कठिनाइ केवल शुद्धतामा मात्र नभई पढ्ने गति वा प्रवाहमा पनि हुन सक्छ । यसको प्रभाव पछि गएर पढाइ, बुझाइ र लेखाइ, शब्दभण्डारको विकासमा र समग्र शैक्षिक उपलब्धिमा समेत पर्न सक्छ ।

यो पढ्न र भाषासँग सम्बन्धित सीप सिक्नमा देखिने एक विशिष्ट सिकाइ कठिनाइ (Specific Learning Difficulty) हो । अक्षर, ध्वनि, शब्द तथा लिखित भाषाबीचको सम्बन्ध बुझ्न जटिलता हुन्छ । शब्द सही रूपमा पढ्न, हिज्जे गर्न र प्रवाहपूर्ण रूपमा पढ्न गाह्रो हुन्छ । यसलाई आलस्य, कम मेहनत वा कमजोर वौद्धिक क्षमताको परिणामका रूपमा बुझ्नु गलत हो । डिस्लेक्सिया भएको विद्यार्थीमा सामान्य वा उच्च बौद्धिक क्षमता हुन्छ  । सिर्जनात्मकता, तार्किक सोच र व्यावहारिक कार्यमा अत्यन्तै दक्ष हुन्छन्  ।

डिस्लेक्सियाका प्रमुख विशेषता

क. पढाइसम्बन्धी कठिनाइः अक्षर र ध्वनिबीच सम्बन्ध जोड्न गाह्रो हुनु, एउटै शब्द पटक-पटक गलत पढ्नु, शब्द उल्टो वा गलत क्रममा पढ्नु, पढ्दा शब्द वा अक्षर छोड्नु, उच्चारणमै धेरै ऊर्जा खर्च हुनु पढाइ सम्बन्धी कठिनाइ हो ।

ख. लेखाइसम्बन्धी कठिनाइः हिज्जे बारम्बार गलत हुनु, अक्षर छुटाउनु वा थप्नु, एउटै शब्द फरक तरिकाले लेख्नु, लेखाइ अत्यन्तै ढिलो हुनु, मौखिक भन्दा लिखित उत्तर कमजोर हुनु लेखाइसम्बन्धी कठिनाइ हो ।

ग. भाषा, स्मृति र अनुक्रमः नयाँ शब्द सिक्न/सम्झिन समय लाग्नु, समान ध्वनि भएका शब्द नछुटिनु, दिन/महिनाका नाम, वर्णमाला क्रम भुल्नु, बहु-चरणीय निर्देशन सम्झन कठिनाइ हुनु, लामो निर्देशन पछ्याउन नसक्नु जस्ता समस्या हुन् ।

उमेरअनुसार पहिचानका संकेतहरू

क) प्रारम्भिक बालबिकास (विद्यालयपूर्व): कविता वा शब्दको लय समात्न कठिनाइ, समान ध्वनि भएका शब्द छुट्याउन नसक्नु, आफ्नो नामका अक्षर पहिचानमा ढिलाइ, नयाँ शब्द सिक्न धेरै समय लाग्नु जस्ता संकेत प्रारम्भिक बालबिकास तहका विद्यार्थीमा देखिन्छ ।

ख) आधारभूत तह (कक्षा १–५): अक्षर र ध्वनि सम्बन्धमा स्पष्ट समस्या, पढाइमा असामान्य ढिलाइ र हिज्जेमा समस्या, पढेको कुरा सम्झन र लेख्न कठिनाइ, पढ्ने गतिविधिबाट बारम्बार बच्न खोज्नु जस्ता संकेत यस तहका विद्यार्थीमा देखिन्छ ।

ग) माथिल्लो आधारभूत (कक्षा ६–८): लामो पाठ पढ्न र नोट लेख्न कठिनाइ, पाठ पढ्न अत्यधिक समय लाग्ने, लिखित परीक्षामा क्षमताभन्दा कमजोर नतिजा, पढाइसम्बन्धी आत्मविश्वासमा कमी जस्ता संकेत यस तहका विद्यार्थीमा देखिन्छ ।

डिस्लेक्सियाका प्रमुख कारणहरू

क) मस्तिष्कीय प्रशोधन (Brain Processing): मस्तिष्कले अक्षर → ध्वनि → शब्द → अर्थ प्रशोधन गर्ने भाषासम्बन्धी प्रक्रियामा भिन्नता हुनु  ।

ख) ध्वनि-सचेतना कठिनाइ (Phonological Awareness): शब्दभित्र रहेका ध्वनिहरूलाई पहिचान र विश्लेषण गर्न नसक्नु (जस्तै: क+ल+म) ।

ग) भाषिक प्रशोधनमा समस्या  (Linguistic Processing) : सुनेको भाषालाई छिटो प्रशोधन गर्ने वा सही शब्दसँग जोड्ने क्षमतामा सुस्तता  ।

घ) आनुवंशिक पक्ष (Genetics) : परिवारमा पढाइसम्बन्धी कठिनाइको वंशानुगत इतिहास भएमा सम्भावना बढ्छ, तर पुरै सम्भावना भने होइन  ।

ङ) वातावरणीय तथा शैक्षिक कारकः कमजोर शिक्षणले डिस्लेक्सिया सिर्जना गर्दैन, तर सहयोगको अभावले समस्या बढाउन सक्छ  ।

कक्षाकोठाका शिक्षण रणनीतिहरू

डिस्लेक्सियाका संकेत भएका विद्यार्थीका लागि कक्षाकोठामा अपनाइनु पर्ने केही शिक्षण रणनीतिहरु निम्नानुसार रहेका छन् ।

१. बहुसंवेदी शिक्षण (Multisensory): हेर्ने, सुन्ने, बोल्ने र गर्ने अनुभव जोड्ने  खालका क्रियाकलापलाई जोड दिनुपर्ने हुन्छ । सबै इन्द्रियहरु मध्ये उपयुक्त माध्यमबाट सिकाइ प्रभावकारी बन्न सक्छ ।

२. Phonics आधारित शिक्षणः अक्षर र ध्वनिबीचको सम्बन्ध क्रमिक रूपमा सिकाउने । जस्तै उदाहरणका लागि /क/ + /म/ = कम → कमल । सरलबाट जटिलतर्फ अघि बढ्ने ।

३. सानो चरणमा सिकाउने (Chunking): एकैपटक धेरै नदिई सानो अवधारणा → अभ्यास → पुनरावृत्ति  । आज ३ वटा नयाँ शब्द अभ्यास गरेपछि मात्र भोलि नयाँमा जानुपर्छ ।

४. बारम्बार पुनरावृत्ति (Repetition): नयाँ जानकारी स्थायी बनाउन निरन्तर अभ्यास गराउने, अभ्यास गराउँदा गाली वा अपमान नगर्ने, सामग्री र समय व्यवस्थापन, ठूलो र स्पष्ट अक्षर, पर्याप्त खाली ठाउँ र चित्रको प्रयोग, परीक्षा तथा कार्यहरूमा आवश्यकताअनुसार अतिरिक्त समय प्रदान गर्ने  ।

६. सकारात्मक प्रतिक्रिया र साथी सहयोग: सानो प्रगतिमा पनि  प्रशंसा (‘आज राम्रो पढ्यौ’) गर्ने, सहयोगी साथी (Peer Partner) सँग समूहकार्य गराउने,

७. वैकल्पिक अवसर: लिखित साटो मौखिक उत्तर, प्रस्तुति, चित्र वा परियोजना मार्फत सिकाइ जाँच्ने  ।

८. प्रविधिको प्रयोग:  Text-to-Speech, Audiobooks र ICT को प्रयोग गर्ने  ।

९. अभिभावक सहकार्य:  अभिभावकसँग नियमित संवाद गरी घरमा छोटो पढाइ अभ्यास गराउने  ।

UDL Approach र मूल्याङ्कनमा सुधार

Universal Design for Learning (UDL);  परम्परागत शिक्षणमा प्रायः एउटै पाठ + एउटै विधि + एउटै सामग्री + एउटै मूल्याङ्कन = सबै विद्यार्थी

तर UDL ले भन्छ: विद्यार्थी विविध छन् , त्यसैले सिकाइका लागि विभिन्न तरिका वा विकल्प आवश्यक छ  ।

क. सिकाइ सामग्री प्रस्तुत गर्ने विभिन्न माध्यम (Multiple Means of Engagement)

ख. विषयवस्तु प्रस्तुत गर्ने विभिन्न माध्यम (Multiple Means of Representation)

ग. सिकाइ प्रदर्शन गर्ने विभिन्न माध्यम (Multiple Means of Action and Expression)

मूल्याङ्कनमा सुधार र लचिलोपन

  • विषयगत ज्ञानको मापन: यदि सामाजिकको बुझाइ जाँच्ने हो भने हिज्जेको गल्तीमा अंक नकाट्ने  ।
  • छुट्टाछुट्टै मूल्याङ्कन: भाषिक शुद्धता र विषयवस्तुको अवधारणालाई अलग गरेर हेर्ने  ।
  • उद्देश्य: विद्यार्थीको वास्तविक ज्ञान अभिव्यक्त गर्ने अवसर दिने  ।

शिक्षकले के नगर्ने ?

  • ‘तिमी पढ्न सक्दैनौ’ वा ‘अल्छी छौ’ नभन्ने  ।
  • सबैका अगाडि जबर्दस्ती पढ्न लगाएर लज्जित नगर्ने
  • कमजोरीलाई मजाक नबनाउने र बारम्बार सजाय नदिने
  • कमजोर अंककै आधारमा क्षमताको अन्तिम निर्धारण नगर्ने

शिक्षकले के गर्ने ?

  • धैर्यतापूर्वक व्यक्तिगत सहयोग र मार्गदर्शन गर्ने
  • बहुसंवेदी (Multisensory) र क्रमिक अभ्यास गराउने
  • सकारात्मक र प्रक्रियामुखी प्रतिक्रिया दिने
  • वैकल्पिक माध्यम र प्रविधिको प्रयोग एवं अभिभावकसँग सहकार्य गर्ने

डिस्लेक्सिया भएका विद्यार्थीलाई ‘कमजोर विद्यार्थी’ भनेर वर्गीकरण गर्नुको सट्टा ‘फरक तरिकाले सिक्ने’ वा ‘सिकाइ सहायता आवश्यक पर्ने’ विद्यार्थीका रूपमा हेर्नु नै समावेशी शिक्षाको वास्तविक आधार हो  । उपयुक्त वातावरण, प्रविधि र धैर्यताले उनीहरूको क्षमता उजागर गर्न सकिन्छ  । डिस्लेक्सिया पढ्न नचाहने, अल्छी वा कम बुद्धिमान विद्यार्थीको पहिचान होइन । यो पढाइ तथा हिज्जेसँग सम्बन्धित विशिष्ट सिकाइ कठिनाइ हो, जसले शब्द पहिचान, विसंकेतन र हिज्जेमा निरन्तर समस्या उत्पन्न गर्न सक्छ । यसको प्रभाव पछि पढाइ,बुझाइ, लेखित अभिव्यक्ति र शैक्षिक उपलब्धिमा पनि असर देखिन सक्छ ।

नेपालको सन्दर्भमा प्रारम्भिक अवस्था पहिचान, शिक्षक क्षमता विकास, UDL, व्यक्तिगत शैक्षिक योजना, लचिलो मूल्याङ्कन र परिवार–विद्यालय सहकार्यलाई व्यवस्थित बनाउन सके डिस्लेक्सिया भएका विद्यार्थीलाई पनि प्रभावकारी रूपमा मूलधारको शिक्षामा सहभागी गराउन सकिन्छ । नेपालसम्बन्धी हालैको UNICEF अध्ययनले पनि यिनै क्षेत्रमा प्रणालीगत सुधारको आवश्यकता औँल्याएको छ । यसर्थ हरेक बालबालिकाले एउटै तरिकाले सिक्दैन । तर उचित अवसर, उपयुक्त शिक्षण र निरन्तर सहयोग पाएमा हरेक बालबालिकाले सिक्न सक्छ ।

Read more post .......

डिस्लेक्सिया: पहिचान, कारण र समाधान

विद्यालयमा एउटै कक्षामा अध्ययन गर्ने सबै विद्यार्थीले एउटै गतिमा पढ्न, लेख्न वा सिक्न सक्दैनन्  । कतिपय विद्यार्थी अभिव्यक्तिमा राम्रो क्षमता

Read More »

मेलम्चीमा कक्षा ४ र ५ को आन्तरिक मुल्याङ्कन सम्बन्धि ३ दिने कार्यशाला

मेलम्ची नगरपालिकाद्वारा नगरपालिका भित्र संचालित विद्यालयका शिक्षकहरुका लागि कक्षा ४ र ५ को आन्तरिक मुल्याङ्कन सम्बन्धि ३ दिने कार्याशाला सञ्चालन

Read More »
Scroll to Top