आधारभूत तहमा विद्यार्थी मूल्याङ्कनः तरिका र साधन

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले विद्यालय शिक्षाको आधारभूत तह कक्षा १–३ मा शतप्रतिशत आन्तरिक मूल्याङ्कन र कक्षा ४–८ मा ५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत आन्तरिक मूल्याङ्कन सहित अक्षराङ्कन पद्धतिलाई अनिवार्य गरेको छ । २०८३ देखि कक्षा ४–५ मा समेत शतप्रतिशत आन्तरिक मुल्याङ्कनको अवधारणा ल्याइएको छ । प्राथमिक तहका बालबालिकाहरूको सिकाइ प्रक्रियालाई परम्परागत ढाँचाको त्रैमासिक वा वार्षिक परीक्षाको अङ्कभित्र सीमित राख्दा उनीहरूको वास्तविक क्षमता, व्यवहार परिवर्तन र चौतर्फी विकासको सही मापन हुन सक्दैन । पाठ्यक्रम विकास केन्द्रद्वारा निर्धारित विषयगत सक्षमता र सिकाइ उपलब्धि हासिल गराउन शिक्षण सिकाइ र मूल्याङ्कनलाई एकै सिक्काका दुई पाटाका रूपमा लैजानु आवश्यक छ । परम्परागत रुपमा सिकाइको मूल्याङ्कनको सट्टामा सिकाइका लागि मूल्याङ्कन र सिकाइकै रुपमा मूल्याङ्कन अवधारणाको प्रभावकारी कार्यान्वयनका लागि शिक्षक एउटा ‘परीक्षक’ नभएर ‘सहजकर्ता’ र प्रधानाध्यापक ‘प्रशासक’ नभएर ‘शैक्षणिक नेतृत्वकर्ता’ हुनुपर्दछ । यो लेख पाठ्यक्रमले निर्धारण गरे बमोजिम मुल्याङ्कनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित छ ।

विभिन्न देशमा मूल्याङ्कन अभ्यास

विश्वव्यापी रूपमा आधारभूत वा प्राथमिक तह कक्षा १–५को मूल्याङ्कन प्रणालीमा परम्परागत आवधिक लिखित परीक्षाको परिपाटीलाई विस्थापित गर्दै प्रक्रियामा आधारित (Process-oriented) र सक्षमतामा आधारित (Competence-Based) आधुनिक मोडेलहरू अपनाइदै आएका छन् । नवीनतम अन्तर्राष्ट्रिय शैक्षिक अनुसन्धान तथा प्रतिवेदन OECD Digital Education Outlook 2026, Trends Shaping Education 2025 को अध्ययनअनुसार विश्वका विभिन्न विकसित तथा विकासोन्मुख देशहरूमा प्राथमिक तहको मूल्याङ्कनलाई बाल–केन्द्रित र सिकाइका लागि मूल्याकन (Assessment for Learning) र सिकाइकै रुपमा मूल्याङ्कन (Assessment as Learning) को रूपमा विकास गरिएका छन् ।

फिनल्यान्डमा प्राथमिक तह (कक्षा १-५) मा कुनै पनि प्रकारको राष्ट्रिय, स्तरीकृत वा औपचारिक परीक्षाहरू लिइँदैनन् । विद्यार्थीहरूलाई तुलना गर्ने वा श्रेणीकरण गर्ने गरी कुनै पनि ग्रेड वा अङ्क दिइदैन । शिक्षकहरूले बालबालिकाको व्यक्तिगत प्रगति, दैनिक व्यवहार र सामाजिक सीपको गहिरो अवलोकन गरी उनीहरूको सुधारका लागि रचनात्मक र विवरणात्मक पृष्ठपोषण मात्र उपलब्ध गराउँछन् । त्यस्तै सिंगापुरले प्राथमिक विद्यालयका सुरूवाती वर्षहरू (कक्षा १ र २) मा सबै किसिमका औपचारिक र आवधिक परीक्षाहरू पूर्ण रूपमा प्रतिबन्ध गरेको छ । कक्षा ३ देखि ५ सम्म पनि परम्परागत लिखित परीक्षाको भारलाई न्यूनतम गराइएको छ । यसको सट्टा विद्यार्थीहरूको मूल्याङ्कनका लागि क्रियाकलापमा आधारित कार्य (Activity-Based Learning), परियोजना कार्य (Project Work) र व्यावहारिक कार्यसम्पादन कार्यहरू (Performance Tasks) लाई मुख्य आधार बनाइएको छ, जसले बालबालिकालाई परीक्षाको मानसिक तनावबाट मुक्त बनाएको छ ।

जापानको प्राथमिक शिक्षाको मूल्याङ्कन ढाँचा केवल किताबी ज्ञान वा संज्ञानात्मक सक्षमतामा मात्र सीमित हुँदैन । त्यहाँ बालबालिकाको ‘नैतिकता’, ‘समुहिक भावना’, र ‘सामाजिक व्यवहार’ को मूल्याङ्कनलाई उच्च प्राथमिकता दिइन्छ । शिक्षकहरूले दैनिक गतिविधिमा बालबालिकाको सहभागिता, उनीहरूले गर्ने प्रयास र स्वमूल्याङ्कन (Self-Assessment) का आधारमा प्रगति प्रतिवेदन (Report Card) तयार गर्छन् । त्यसैगरी छिमेकी देश भारतमा नयाँ राष्ट्रिय शिक्षा नीति (NEP) अन्तर्गत प्राथमिक तहमा बहुआयामिक कार्डको अभ्यास सुरु गरेको छ । यसमा विद्यार्थीको मूल्याङ्कन केवल शिक्षकको एकल निर्णयमा हुँदैन । यस कार्डमा विद्यार्थीको आफ्नै स्वमूल्याङ्कन, उसका सहपाठीहरूले गर्ने सहपाठी मूल्याङ्कन (Peer Assessment) र शिक्षकको अवलोकन गरी तीनै पक्षको मूल्याङ्कन अभिलेख समावेश गरिन्छ ।

अधिकांश देशहरूले आधारभूत तहदेखि नै Activity-Based Learning मार्फत 4Cs अर्थात सिर्जनात्मकता (Creativity), सहकार्य (Collaboration), सञ्चार (Communication), र समालोचनात्मक सोचाइ (Critical Thinking) लाई दैनिक कक्षाकार्य र क्रियाकलापमा आधारित गतिविधिबाट नै मापन गर्ने ढाँचा अनिवार्य गरेका छन् । तर हाम्रा कक्षाकोठाका क्रियाकलाप र मुल्याङ्कन प्रणाली भने भने परम्परागत ढाँचाबाट माथी उठ्न सकिरहेको छैन । यसका लागि विद्यालयका सबै सरोकारवाला पक्षहरु जागरुक हुन जरुरी छ ।

विद्यार्थी मूल्याङ्कनका तरिका

आधारभूत तहमा विद्यार्थी मूल्याङ्कनका तरिकाहरू र तिनका साधनहरूको व्यावहारिक प्रयोग आवश्यक छ तर ति साधनको विकास र प्रयोगमा शिक्षाकहरु अलमलिरहको अवस्था छ । हरेक विद्यार्थीको कार्य सञ्चयिका फाइल तयार गरी उक्त फाइलमा मुल्याकनका सबै प्रमाणहरु व्यवस्थित गरिन्छ र त्यसको अभिलेख मुल्याङ्कन पुस्तिकामा राखिन्छ । तर शिक्षकले मुल्याङ्कन पुस्तिकामा अङ्क भर्ने कामलाई नै सबैथोक मान्ने हो भने मुल्याङ्कन वस्तुनिष्ठ हुन सक्दैन ।

परम्परागत मूल्याङ्कनले विद्यार्थीले “के सिके?” भन्ने कुरा मात्र परीक्षण गर्दथ्यो । यो केवल ज्ञानको मूल्याङ्कन हो । तर वर्तमान मूल्याङ्कनले विद्यार्थीले “कस्तो सिके र त्यसलाई व्यवहारमा कसरी प्रयोग गर्न सक्छन्?” अर्थात् सीप र अभिवृत्ति वा व्यवहारको मूल्याङ्कन गर्ने कुरालाई समेट्छ । वर्तमान विद्यालय शिक्षा पाठ्यक्रमले पनि अक्षराङ्कन पद्धति र निरन्तर विद्यार्थी मूल्याङ्कनको अवधारणा ल्याएको छ । आधारभूत तहमा प्रयोग गर्न सकिने मूल्याङ्कन तरीका र त्यससँग सम्बन्धित सम्भाव्य साधनको विकास र प्रयोगलाई जोड दिइएको छ ।

मूल्याङ्कनका तरिका र साधन

१.   अवलोकन (Observation): विद्यार्थीको व्यवहारहरुको अवलेकन गरी सिकाइको स्तर मापन गर्न अवलोकनको तरिका अपनाइन्छ । अवलोकनका लागि आवश्यक साधनहरू रुजुसूची, रुब्रिक्स, श्रेणीमापन, मौखिक प्रश्न, अभिलेख फाराम, घटनावृत्त अभिलेख (Anecdotal Record) तयार गरिन्छ र यसैअनुसार अभिलेख राख्नुपर्दछ । विद्यार्थीको दैनिक व्यवहार, सामाजिक सीप र सिकाइप्रतिको रुचिको मापन गर्न यो तरिका उपयुक्त हुन्छ ।

२.   मौखिक कार्य (Oral Work): चित्र वा घटना देखाएर त्यसमाथि प्रश्न सोध्ने र मौखिक अभिव्यक्ति लिने कार्य यसमा पर्दछ । यसका लागि आवश्यक साधनहरू प्रश्न, चित्र, पठन सामग्री, सन्दर्भ, घटना, श्रव्य तथा दृश्य सामग्री, अन्तर्वार्ता आदि हुन् । विशेष गरी कक्षा १–३ मा सुनाइ र बोलाइ सिपको परीक्षण गर्न यो तरिका उपयोगी हुन्छ ।

३.   लिखित कार्य (Written Work) : परम्परागत लिखित परीक्षाको ढाँचामा यस्ता कार्य गर्न सकिन्छ । तर आधारभूत तहमा घण्टौंसम्म लेख्न लगाउने भन्दा पनि छोटा परीक्षा र एकाइ परीक्षाको रुपमा यो तरिका अपनाउनु पर्ने हुन्छ । यसका लागि आवश्यक साधनहरू प्रश्न, कार्य विवरण फाराम (Worksheet), सन्दर्भ, घटना, उत्तरपुस्तिका आदि हुन् । लेखन सीप, व्याकरण र संज्ञानात्मक क्षमता मापनका लागि छोटो प्रश्नहरूको माध्यमबाट लिखित कार्य गराइन्छ । कक्षा १-५ मा लामो उत्तरभन्दा संक्षिप्त उत्तरात्मक कार्य बढी प्रभावकारी हुन्छ ।

४.  कुराकानी/छलफल (Dialogue/Discussion): विद्यार्थीहरू बीचको अन्तरक्रिया, तर्क गर्ने क्षमता र विचारको आदानप्रदानको मूल्याङ्कन गर्न कुराकानी वा छलफलको तरिका प्रयोग गरिन्छ । यसका लागि आवश्यक साधनहरू प्रश्न, रुजुसूची, अभिलेख फाराम, छलफल निर्देशिका आदि हुन् । शिक्षकले निर्देशिकाका आधारमा छलफलको नेतृत्व गर्दै रुजुसूचीमा त्यसको अभिलेख राख्नुपर्दछ ।

५.   परियोजना कार्य (Project Work): विद्यार्थीले गरेर सिक्ने प्रक्रियाका रुपमा परियोजना कार्यलाई लिइन्छ । विद्यार्थीलाई व्यक्तिगत वा सामूहिक रूपमा कुनै विषयमा खोज गर्न लगाइन्छ । विद्यार्थी आफैं तथ्यहरुको खोजी गर्दछन् र त्यसको आधारमा ज्ञानको निर्माण गर्दछन् । परियोजना कार्य सञ्चालनका क्रममा र सम्पन्न गरिसकेपछि उपयुक्त साधन मार्फत विद्यार्थीको कार्यसम्पादन र सिकाइको मापन गर्नु पर्दछ । यसका लागि आवश्यक साधनहरू रुजुसूची, रुब्रिक्स, प्रतिवेदन ढाँचा, प्रस्तुतीकरण मूल्याङ्कन फाराम आदि हुन् । यसको मूल्याङ्कन गर्न स्पष्ट मापदण्ड अर्थात ‘रुब्रिक्स’ अनिवार्य हुन्छ, जसले निष्पक्षता कायम गर्दछ ।

६.  प्रयोगात्मक कार्य (Practical Work): सैद्धान्तिक रुपमा सिकेका वा जानेका कामलाई व्यवहारिक अभ्यासबाट परीक्षणद्वारा पुष्टि गर्ने काम प्रयोगात्मक कार्य हो । प्रयोगात्मक कार्य सञ्चालनका लागि विद्यार्थीलाई आवश्यक निर्देशन दिइन्छ । प्रयोग गर्दाको चरण र प्रक्रियालाई कार्यसम्पादन अभिलेखमा उतारिन्छ । त्यसपछि उनीहरुको कार्यसञ्चालन प्रक्रिया र उनीहरुले प्राप्त गरेको निश्कर्षको आधारमा मुल्याङ्कन गरिन्छ । यसका लागि रुजुसूची, रुब्रिक्स, कार्यसम्पादन अभिलेख, प्रयोगात्मक प्रतिवेदन जस्ता साधनहरु आवश्यक पर्दछ । विज्ञान, गणित वा सामाजिक अध्ययनमा ‘गरेर सिक्ने’ क्षमताको परीक्षण गर्न बढी उपयोगी हुन्छ ।

७.  कार्यसम्पादन तथा प्रदर्शन (Performance & Demonstration): विद्यार्थीलाई शारीरिक तथा बौद्धिक क्षमता विकासका क्रियाकलाप र सिपमूलक कार्यमा संलग्न गराएर त्यसमा उसको कार्यसम्पादनके स्तरको लेखाजेखा गर्नुपर्ने हुन्छ । कार्समपादनको क्रममा रुजुसूची, रुब्रिक्स, श्रेणीमापन, मौखिक प्रश्न, कार्यसम्पादन अभिलेख जस्ता साधनहरू मार्फत मूल्याङ्कन गर्न सकिन्छ । जस्तैः गीत, नृत्य, नाटक, वा शारीरिक व्यायाम जस्ता सीपमूलक कार्यको प्रत्यक्ष प्रदर्शन गराएर श्रेणीमापन (Rating Scale) को आधारमा स्तर निर्धारण गरिन्छ ।

८.  सहपाठी मूल्याङ्कन (Peer Assessment) : विद्यार्थीको दैनिक व्यवहारका कतपय पक्षहरु शिक्षको अवलोकन र जानकारीभन्दा बाहिर रहेका हुन सक्छन् । सहपाठीहरुमार्फत उनीहरुको व्यवहारको अवलेकन गराइ मुल्यांकन गर्न सकिन्छ । रुजुसूची, श्रेणीमापन, अवलोकनफाराम, पृष्ठपोषण फाराममार्फत विद्यार्थीले आफ्ना साथीहरूको कार्य वा व्यवहारको मूल्याङ्कन गर्छन् । यसले उनीहरूमा आलोचनात्मक सोच र सहकार्यको भावना समेत विकास गर्छ ।

९.   स्वमूल्याङ्कन (Self-Assessment): विद्यार्थी आफैँले ‘मैले के सिकेँ? म कहाँ चुकेँ?’ भनी आत्म-समीक्षा गर्ने विधि स्वमूल्याङ्कन हो । विद्यार्थीलाई रुजुसूची, श्रेणीमापन, प्रतिबिम्बन फाराम (Reflection Sheet) मार्फत स्वमूल्याङ्कन गराउन सकिन्छ । त्यसकै आधारमा शिक्षकले रुब्रिक बनाइ सिकाइ स्तर निर्धारण गर्न सकिन्छ ।

१०. अभिभावक प्रतिक्रिया (Parental Feedback): विद्यार्थीको परिवार र समुदायमा सिकाइ व्यवहारको प्रदर्शन बारेमूल्याङ्न गर्न यो तरिका उपयुक्त्त मानिन्छ । घरमा बालबालिकाको बानी र व्यवहार कस्तो छ भनी अभिभावकबाट लिखित वा मौखिक प्रतिक्रिया लिएर मूल्याङ्कनमा समावेश गरिन्छ । यसका लागि रुजुसूची, श्रेणीमापन, अवलोकन फाराम, अन्तर्वार्ता, प्रतिक्रिया फाराम जस्ता साधनहरुको तयारी गरी प्रयोग गर्नुपर्दछ । यसले शिक्षक र अभिभावको सहकार्यलाई बलियो बनाउन समेत मद्दत पुग्छ ।

११. पोर्टफोलियो मूल्याङ्कन (Portfolio Assessment): विद्यालयमा शिक्षक वा कक्षाकोठामा राखिने भन्दा फरक विद्यार्थी स्वयंले व्यवस्थापन गरेको लघु कार्यसञ्चयिकाको रुपम यसलाई बुझिन्छ । विद्यार्थीले एउटा निश्चत अवधीभर गरेका उत्कृष्ट कार्यहरू (चित्र, रचनात्मक लेखन, वर्कशीट) लाई एउटा फाइलमा सङ्ग्रह गर्न लगाइन्छ । यो विद्यार्थीको कुनै पक्षमा क्रमिक विकास देखाउने ऐना हो । यसका लागि लघु पोर्टफोलियो, रुब्रिक्स, रुजुसूची, प्रगति अभिलेख जस्ता साधनहरु प्रयोग गरी मुल्याकन गर्न सकिन्छ ।

१२. गृहकार्य तथा कक्षाकार्य मूल्याङ्कन (Homework & Classwork): नियमित रूपमा दिइने कक्षाकार्य र गृहकार्यको माध्यमबाट दैनिक सिकाइ प्रगतिको अनुगमन गरिन्छ । यसमा तत्काल रचनात्मक पृष्ठपोषण आवश्यक हुन्छ । यसका लागि आवश्यक साधनहरू रुजुसूची, रुब्रिक्स, कार्य विवरण फाराम, अभिलेख आदि हुन् ।

१३. छोटो परीक्षा (Quiz/Test): एकाइ वा थिमको सिकाइ क्रियाकलाप सकिएपछि वा साप्ताहिक रूपमा लिइने साना वस्तुगत वा संक्षिप्त प्रश्नोत्तर परीक्षा, जसले तत्कालिक रूपमा विद्यार्थीको स्मरण र बुझाइको स्तर देखाउँछ । यसका लागि आवश्यक साधनहरू प्रश्नपत्र, उत्तरपुस्तिका, उत्तरकुञ्जिका, अङ्कसूची आदि हुन् । यसले तत्काल सिकाइको स्तरमा आएको परिवर्तनको स्थिति थाहा पाउन सजिलो बनाउँछ ।

१४. सिर्जनात्मक कार्य (Creative Work): कविता, कथा लेखन, चित्रकला, वा कङ्क्रिट मोडेल निर्माण जस्ता मौलिक सिर्जनाको मूल्याङ्कन स्पष्ट मापदण्ड (Rubrics)का आधारमा गरिन्छ । यसका लागि रुब्रिक्स, श्रेणीमापन, प्रदर्शनीको अवलोकन फाराम आदि साधनहरू विकास गरी प्रयोग गर्न सकिन्छ ।

१५. भूमिका निर्वाह (Role Play): ऐतिहासिक पात्र, सामाजिक भूमिका वा संवाद अभिनय मार्फत विद्यार्थीले विषयवस्तुलाई कत्तिको बुझेका वा महसुस गरेका छन् भनी मापन गर्न अवलोकन सूचीका आधारमा परीक्षण गर्ने तरिका हो । यसमा विद्यार्थीलाई कुनै पात्रको भूमिका प्रस्तु गर्न लगाइन्छ र रुब्रिक्स, रुजुसूची, श्रेणीमापन, अवलोकन फाराम जस्ता साधनमार्फत मूल्याङ्कन गरिन्छ ।

१६. प्रस्तुतीकरण (Presentation): विद्यार्थीले तयार गरेका परियोजना तथा प्रयोगात्मक कार्यलाई तर्कपूर्ण रुपमा कक्षामा प्रस्तुत गर्नु नै प्रस्तुतिकरण हो । चार्ट, पोस्टर वा मौखिक रूपमा कुनै विषयवस्तु कक्षामा प्रस्तुत गर्न लगाएर विद्यार्थीको प्रस्तुती क्षमता, आत्मविश्वास र तर्कशक्तिको मापन गरिन्छ । यसका लागि प्रस्तुतीकरणको क्रमा रुब्रिक्स, रुजुसूची, प्रस्तुतीकरण मूल्याङ्कन फाराम जस्ता साधन मार्फत विद्यार्थीको स्तर निर्धारण गरी अङ्कन गरिन्छ ।

१७. प्रयोग, खोज तथा अनुसन्धानमा आधारित कार्यः विद्यार्थीलाई स्थानीय समस्या, वनस्पति, वा भूगोलबारे सानो खोज अनुसन्धान गर्न लगाई प्रतिवेदन तयार गर्न लगाइन्छ । त्यसरी गरेको खोज अनुसन्धानको प्रक्रिया‚ निश्कर्ष र प्रयोगलाई रुब्रिक्स, अनुसन्धान प्रतिवेदन, रुजुसूची जस्ता साधनमार्फत कार्यसम्दापन र सिकाइस्तर मापन गर्न सकिन्छ । यो तरिका कक्षा ४-५ मा बढी सान्दर्भिक र प्रभावकारी हुन्छ ।

१८. खेल तथा गतिविधिमा आधारित मूल्याङ्कनः खेलकुदका माध्यमबाट नियमको पालना, समूह भावना (Team Spirit), र नेतृत्व क्षमता जस्ता संवेगात्मक र शारीरिक पक्षको मूल्याङ्कन गरिन्छ । यो तरिका अपनाउँदा विद्यार्थीलाई खेल वा अन्य शारीरिक वा संवेगात्मक क्रियाकलापमा संलग्न गराइ अवलोकन सूची, रुब्रिक्स, श्रेणीमापन जस्ता साधनमार्फत कार्यसम्पादन तथा सिकाइस्तरको मापन गरिन्छ ।

१९. डिजिटल वा प्रविधिमा आधारित मूल्याङ्कनः कम्प्युटर वा मोबाइल (उपलब्ध भएसम्म) को प्रयोग गरी Kahoot, Google Forms जस्ता प्लेटफर्ममा खेलिने क्विज वा डिजिटल माध्यमबाट पनि विद्यार्थीको मूल्याङ्कन गर्न सकिन्छ । विद्यार्थीलाई डिजिटल प्लेटफर्ममा विभिन्न कामहरु गराइन्छ । उनीहरुले गरेको काम डिजिटल रुपमै सुरक्षित गरिन्छ र कार्यसम्पादन र सिकाइस्तरको अनलाइन क्विज, ई-पोर्टफोलियो, डिजिटल रुब्रिक्स, डिजिटल अभिलेखमार्फत मुल्यांकन गर्न सकिन्छ । यसले विद्यार्थीमा बढ्दै गएको डिजिटल सामग्रीको प्रयोगलाई सिकाइसँग जोड्न र उनीहरुमा डिजटल साक्षरता सिप विकास गर्न मद्दत पग्छ ।

२०. विद्यार्थीको सिकाइ संवाद (Learning Conference): शिक्षक र विद्यार्थीब बीच एकापसमा बसेर सिकाइका समस्या, उपलब्धि र आगामी योजनाबारे गरिने आत्मीय एवं प्राज्ञिक संवाद गराउन सकिन्छ । विद्याथी–विद्यार्थी बीच वा अन्य स्रोत व्यक्तिहरुसँग संवाद गराइ त्यसका आधारमा सिकाइस्तरको मुल्यांकन गर्न सकिन्छ । मूल्याङ्कनको यो तरिकाका लागि अन्तर्वार्ता फाराम, रुजुसूची, प्रगति अभिलेख जस्ता साधनहरुको आवश्यकता पर्दछ ।

आधारभूत तह (कक्षा १-५) मा विद्यार्थी मूल्याङ्कन केवल परीक्षा लिने र पास-फेल छुट्याउने साधन होइन । उल्लिखित तरिका र साधनहरूको सही र सन्तुलित प्रयोगले विद्यालय शिक्षालाई गुणस्तरीय, बालमैत्री र नतिजामुखी बनाउन सक्दछ । विद्यार्थी मूल्याङ्कनलाई प्रभावकारी बनाउन प्रधानाध्यापक र शिक्षकले निम्न व्यावहारिक पक्षमा ध्यान पुर्याउनुपर्छ ।

  • शिक्षक आफैँले प्रत्येक विद्यार्थीको व्यक्तिगत सञ्चित अभिलेख (Cumulative Record) र पोर्टफोलियो अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्छ ।
  • मूल्याङ्कन गरिसकेपछि केवल श्रेणी वा अङ्क मात्र नभई आवश्यकताअनुसार सुधारात्मक पृष्ठपोषण दिनुपर्छ, जसले विद्यार्थीको सिकाइ मजबुद बनाउन र थप सिक्न प्रेरित गर्छ ।
  • प्रधानाध्यापकले विद्यालयमा विभिन्न फाराम, रुजुसूची र रुब्रिक्स निर्माणका लागि आवश्यक बजेट र स्टेशनरीको व्यवस्थापन गरी शैक्षणिक नेतृत्व (Instructional Leadership) प्रदान गर्नुपर्छ ।
  • शिक्षकहरुका लागि मूल्याङ्कनका साधनहरुको विकास‚ प्रयोग र सोको अभिलेखिकरण सम्बन्धि क्षमता विकासका अवसर सिर्जना गर्नुपर्छ ।

पोर्टफोलियो व्यवस्थापन

सिकाइका क्रममा विद्यार्थीले भौतिक रुपमा तयार गरेका मौलिक र सिर्जनात्मक उत्पादनहरुको व्यवस्थित संग्रह नै कार्यसञ्चयिका अर्थात पोर्टफोलियो व्यवस्थापन हो । सामान्यतया कार्यसञ्चयिका व्वस्थापन भनेर विद्यार्थीको मूल्याङ्कनका क्रममा तयार गरेका लिखित कागजातहरुको व्यस्थापन गर्नुलाई मात्र बुझ्ने गरिएको छ । रेकर्ड फाइलमा सिलसिला मिलाइ यसमा विद्यार्थीले गरेका कार्य र कार्य विवरणको अभिलेख सम्बन्धी कागजात समावेश गरिएको हुन्छ । तर यसले मात्र विद्यार्थीका सबै कामहरुको व्यवस्थित अभिलेख हुन सक्दैन । पोर्टफोलियो व्यवस्थापनलाई पूर्णता दिनकक्षामा शिक्षकले निम्न तरिकाले विद्यार्थीले गरेका कार्यहरुको व्यवस्थापन गर्नु अवश्यक छ ।

क) रेकर्ड फाइलः यसमा विद्यार्थीका कागजी अभिलेखहरु फाइलिङ गरिन्छ । विद्यार्थीले गरेका लिखित कार्य र अन्य मौलिक कार्यको शिक्षक‚ अभिभावक‚ सहपाठीहरुले अवलोकन गरेका फाराम लगायतका लिखित दस्तावेजहरु यसमा जम्मा गर्नुपर्दछ ।

ख) र्‍याक वा दराजः विद्यार्थीले परियोजना तथा प्रयोगात्मक कार्य अन्तर्गत तयार गरेका भौतिक सामग्रीहरु व्यक्तिगत रुपमा आ आफ्ना र्‍याकमा व्यवस्थित गरी राखिन्छ । विद्यार्थीको कार्यसम्पादनको स्तरलाई पछिसम्म अवलोकन गर्न र मूल्याङ्कनका पछिसम्म पारदर्शी बनाउन यसले सहज बनाउँछ । जस्तै पुस्तिका‚ जसावटका सामग्रो‚ विभिन्न वस्तु वा कार्यप्रक्रियाका मोडलहरु यहाँ राख्न सकिन्छ ।

ग) टोकरी वा डोकोः विद्यार्थीले सिपमूलक कार्य अन्तर्गत तयार गरेका सिर्जनात्मक सामग्री यहाँ संग्रहित गरिन्छ । र्‍याक वा दराजमा राख्न बोझिला सामग्रीहरु यहाँ राख्न सिकिन्छ । जस्तै माटोका सामग्री‚ ढुङ्गा गिटीबाट बनेका सामग्रीहरु यहाँ राख्न सिकिन्छ ।

घ) व्यक्तिगत बोर्डः विद्यार्थीले चार्टपेपरमा तयार गरेका सामग्रीहरुलाई टाँसेर वा झुण्ड्याएर राख्न काठ वा फलाटिनको बोर्ड तयार गर्न सकिन्छ । उसले तयार गरेका सामग्रीलाई क्यालेण्डर जसरी तह तह मिलाई क्रमवद्धरुपमा राख्न सजिलो हुन्छ । जस्तै विभिन्न चार्ट‚ पोष्टर‚ चित्रहरुलाई यसरी राख्न सकिन्छ ।

ङ) झोंक (Hanger): विद्यार्थीले सिकाइ क्रममा बनाएका कतिपय सामग्री र्‍याकमा राख्न‚ फाइलिङ गर्न‚ टाँस्न नमिल्ने खालका हुन सक्छन् । जस्तै बाँस निगालोबाट बनेका सामग्री‚ स्थानीय सामग्रीबाट बनेका अन्य हलुका सामग्रीहरुलाई यसरी राख्न सकिन्छ ।

उल्लेखित तरिकाबाट विद्यार्थीका कार्यसम्पादन‚ सिकाइ एवं उनीहरुले मैलिक रुपमा निर्माण गरेका ज्ञान‚ सिप र व्यवहार सम्बन्धी प्रमाणहरुका आधारमा सम्बन्धित सिकाइ उपलब्धिको रुब्रिक बनाइ अङ्कन गर्नुपर्दछ ।

निष्कर्ष

आधारभूत तहमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न मूल्याङ्कनलाई आवधिक रुपमा हुने लिखित परीक्षामार्फत प्राप्ताङ्क निर्धारणको साधनका रूपमा नभइ सिकाइ सुधार गर्ने निरन्तर प्रक्रियाका रूपमा विकास गर्नु आवश्यक छ । अवलोकन, परियोजना, पोर्टफोलियो, स्वमूल्याङ्कन, सहपाठी मूल्याङ्कन, प्रस्तुतीकरण, डिजिटल मूल्याङ्कन तथा सिकाइ प्रदर्शनी जस्ता बहुआयामिक विधिहरूको सन्तुलित प्रयोगले विद्यार्थीको ज्ञान, सीप, व्यवहार र जीवनोपयोगी दक्षताको समग्र विकास गर्न सहयोग पुर्‍याउँछ । शिक्षक, प्रधानाध्यापक, अभिभावक र विद्यालय समुदायबीचको सहकार्यले मात्र सिकाइ उपलब्धिमा आधारित मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ । विद्यालय शिक्षामा अपनाइएको हालको मूल्याङ्कन दृष्टिकोण अन्तर्राष्ट्रिय असल अभ्याससँग मेल खाने भएकाले यसको प्रभावकारी कार्यान्वयनबाट आधारभूत तहको शिक्षाको गुणस्तर अभिवृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।

कृष्णप्रसाद ढुङ्गाना

शिक्षक‚ श्री तर्से मा.वि.‚ मेलम्ची‚ सिन्धुपाल्चोक

Read more post .......

क्षेत्रपालेश्वरीमा आन्तरिक मुल्याङ्कन सम्बन्धि कार्यशाला

बैशाख ११ गते श्री क्षेत्रपालेश्वरी मा‍वि‍मा विद्यालय तहमा आन्तरिक मुल्याङ्कलाई प्रभावकारी बनाउन शिक्षकहरुका लागि एक दिने कार्यशाला बैशाख ११ गते

Read More »

आधारभूत तह (कक्षा ४–५) मा विद्यार्थी मूल्याङ्कन मार्गदर्शन २०८३

आधारभूत तह (कक्षा ४–५) मा विद्यार्थी मूल्याङ्कन सम्बन्धमा पाठ्यक्रम विकास केन्द्रले मार्गदर्शन २०८३ तयार गरी सार्वजनिक गरेकाे छ । यस

Read More »
Scroll to Top