– कृष्णप्रसाद ढुङ्गाना
सामुदायिक विद्यालयभित्रको शैक्षिक क्रियाकलाप समयानुकुल नबनेसम्म आम रुपमा शिक्षाको स्तर माथि उठ्न सक्दैन किनभने हाम्रा सामुदायिक विद्यालयहरु सामुदायिक स्वामित्व, सहभागिता र स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर राज्यद्वारा सञ्चालित छन् । तर गतिशील समाज र बदलिँदो सिकाइ आवश्यकताको परिपूर्ति गर्न यिनले समयसान्दर्भिक शिक्षण क्रियाकलाप अपनाउने वातावरण तयार गर्नु नै अहलेको प्रमुख चुनैती हो । यस लेखमा समयसान्दर्भिक शिक्षणको अवधारणा, नेपालका सामुदायिक विद्यालयहरूमा समयसान्दर्भिक शिक्षणको अभ्यास र यसको प्रवर्द्धनका निम्ति शिक्षकलाई आवश्यक पर्ने पेशागत सहयोग सम्बन्धमा विवेचना गर्ने प्रयास गरिएको छ । आफ्नो शिक्षण पेशाको अनुभव र केही सैद्धान्तिक मान्यताहरुलाई समेत संयोजन गरी यो लेख तयार गरिएको छ ।
१. विषय प्रवेशः
हाम्रो शिक्षा प्रणालीले विविध खालका चुनौतीहरू सामना गर्दै आएको छ । सामुदायिक विद्यालयहरूले राज्यको लगानीमार्फत समुदायको संलग्नताबाट शिक्षाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान दिइरहेएका छन् । तर आजको बदलिँदो विश्वमा ज्ञानको प्रकृति र आवश्यक सिपहरू निरन्तर विकसित र फराकिला बन्दैछन् । यसले “समयसान्दर्भिक शिक्षण” को अवधारणा अझ महत्वपूर्ण बन्दै गएको छ ।
समयसान्दर्भिक शिक्षण भन्नाले शैक्षिक क्रियाकलापहरू केवल पाठ्यपुस्तकमा मात्र सीमित नरही वर्तमान समयको सामाजिक, आर्थिक, प्राविधिक र वातावरणीय प्रासङ्गिकतासँग जोडिएर सिकाइ अनुभवलाई यथार्थपरक र जीवनोपयोगी बनाउनु हो (Shrestha, 2018) । यसले विद्यार्थीलाई वर्तमानका समस्या समाधान गर्दै र भविष्यका अवसरहरूको उपयोग गर्न सक्षम बनाउँदछ । नेपालको सन्दर्भमा, ग्रामीण र सहरीक्षेत्रबीच जुन शैक्षिक खाडल छ, त्यसलाई कम गर्न र शैक्षिक बेरोजगारी कम गर्न सामुदायिक विद्यालयहरूले समयसान्दर्भिक शिक्षणलाई एक प्रभावकारी उपकरणका रुपमा प्रयोग गर्न सक्छन् । त्यसका निम्ति शिक्षकलाई के-कस्तो सहयोग चाहिन्छ भन्ने प्रश्नको सेरोफेरोमा यो लेख केन्द्रित छ ।
२. सैद्धान्तिक आधारः
समयसान्दर्भिक शिक्षणको अवधारणा निर्माणवादी (Constructivist) शिक्षण सिद्धान्त, सामुदायमा अधारित शिक्षा (Community-Based Education) र जीवन उपयोगी सिप (Life Skills) मा आधारित शिक्षाको संयोजनमा आधारित छ । निर्माणवादी सिद्धान्त अनुसार विद्यार्थीले आफ्नो वास्तविक अनुभवबाट सक्रिय रूपमा नयाँ ज्ञान निर्माण गर्छन् (Piaget, 1973) । विद्यालय यसै सिद्धान्तलाई स्थानीय सन्दर्भमा लागु गर्ने एउटा माध्यम हो । शिक्षा स्थानीय संस्कृति, मुल्य–मान्यता र आवश्यकतासँग जोडिएको हुनुपर्छ । समयसान्दर्भिकताले यसलाई अद्यावधिक बनाउँछ, उदाहरणका लागि समसामयिक सवालहरु‚ जस्तै COVID-19 जस्तो महामारी, जलवायु परिवर्तन, सूचना प्रविधि, स्थानीय रोजगारीका अवसर जस्ता विषयहरू पाठ्यक्रमसँग एकीकृत हुन्छन् ।
नेपालका सामुदायिक विद्यालयहरूले स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घको साझा प्रयासबाट सरकारको राष्टिय नीति र स्थानीय आवश्यकताबीच समन्वयको काम गर्दछन् । यही कारणले गर्दा पनि सामुदायिक विद्यालयमा समयसान्दर्भिक शिक्षण वातावरण तयारीका लागि सम्भावनाहरु छन् । किनकि तिनीहरूले संस्थागत जटिलता भन्दा स्थानीय आवश्यकताका अधारमा रचनात्मकतालाई बढी महत्व दिन सक्छन् ।
३. समयसान्दर्भिक शिक्षण अभ्यासहरूको विश्लेषण
समयसान्दर्भिक शिक्षण (Contemporary Teaching) को अर्थ शिक्षाको परम्परागत स्वरूपमा परिवर्तन ल्याई आधुनिक समयको माग र विद्यार्थीको आवश्यकता अनुसार शिक्षण प्रक्रियालाई अगाडि बढाउनु हो । (Peko, 2005) यसका प्रमुख मान्यताहरु निम्न छन् ।
क) समयसान्दर्भिक शिक्षणले विद्यार्थीलाई सूचनाको निष्क्रिय प्राप्तकर्ताको रूपमा नभई शैक्षिक प्रक्रियामा सक्रिय सहभागीको रूपमा हेर्दछ ।
ख) यसमा शिक्षक केवल ज्ञानको स्रोत मात्र नभएर विद्यार्थीको ज्ञान र वास्तविक संसारबीचको सम्बन्ध जोड्ने सहजकर्ता को रूपमा रहन्छन् ।
ग) यो सिकाईको यस्तो दृष्टिकोण हो जहाँ विद्यार्थीले आफ्नो पुरानो ज्ञान र अनुभवको आधारमा नयाँ ज्ञान आफैं निर्माण गर्दछन् । यसलाई रचनात्मक सिकाई पनि भनिन्छ ।
घ) आधुनिक शिक्षणमा कम्प्युटर, इन्टरनेट र अन्य शैक्षिक प्रविधिहरूको प्रयोगलाई अनिवार्य मानिन्छ जसले सिकाईलाई थप प्रभावकारी बनाउँछ ।
ङ) समयसान्दर्भिक शिक्षाको एउटा मुख्य उद्देश्य विद्यार्थीहरूमा अन्तर-सांस्कृतिक चेतना अभिवृद्धि गरी विभिन्न संस्कृतिप्रति सम्मान, सहिष्णुता बढाउनु र भेदभावको वातावरण अन्त्य गर्नु हो ।
च) यसले विद्यार्थीहरू बीचको व्यक्तिगत प्रतिस्पर्धा भन्दा पनि सामूहिक कार्य (Group work) र जोडी कार्य (Pair work) मार्फत सिक्ने प्रक्रियालाई प्रोत्साहन गरी सहयोगात्मक सिकाईलाई महत्व दिन्छ ।
संक्षेपमा भन्नुपर्दा, समयसान्दर्भिक शिक्षणले केवल पाठ्यपुस्तकको ज्ञान दिने भन्दा पनि विद्यार्थीलाई स्वतन्त्र रूपमा सोच्न, प्रश्न गर्न र समस्या समाधान गर्न सक्षम बनाउने लक्ष्य राख्दछ । हाम्रा सामुदायिक विद्यालयहरुमा समयसान्दर्भिक शिक्षणका केही उल्लेखनीय अभ्यासहरू देखिन्छन्, जसलाई निम्नानुसार विश्लेषण गर्न सकिन्छः। हाम्रा सामुदायिक विद्यालयहरुमा समयसान्दर्भिक शिक्षणका केही उल्लेखनीय अभ्यासहरू देखिन्छन्, जसलाई निम्नानुसार विश्लेषण गर्न सकिन्छः
क) स्थानीय सन्दर्भमा पाठ्यक्रम अनुकूलन (Localized of Curriculum Implementation)
धेरै सामुदायिक विद्यालयहरूले राष्ट्रिय पाठ्यक्रमलाई स्थानीय संदर्भमा ढाल्ने प्रयास गरेका छन् । उदाहरणका लागि, पहाडी क्षेत्रका विद्यालयहरूले गणितको पाठ “मापन” लाई स्थानीय अन्न भण्डारणका परम्परागत भाँडो (थुम्से) र मानक एकाइबीच तुलना गरेर पढाउँछन् (Bhatta, 2020)। यसरी स्थानीय जीवनसँग जोडिएर पढाउँदा विद्यार्थीको बुझाइ प्रभावकारी हुन्छ । यस्तो गर्न शिक्षकलाई स्थानीय ज्ञान सङ्कलनका लागि प्राविधिक सहयोग र लचिलो पाठ्यक्रम ढाँचा (Flexible Curriculum Framework) को आवश्यकता पर्दछ । शिक्षकले स्थानीय बुढापाकाहरू, स्थानीय स्तरका विज्ञहरूसँगको अन्तरक्रियाबाट सामग्री सङ्कलन गर्नुपर्ने हुन्छ, जसका लागि समय र स्रोत साधन सुनिश्चत हुनुपर्छ ।
ख) प्रविधिको एकीकरण (Integration of Technology)
COVID-19 महामारीले सामुदायिक विद्यालयहरूलाई पनि प्रविधिको उपयोगबारे छिटो सोच्न बाध्य बनायो । धेरै विद्यालयलाई रेडियो शिक्षण‚ अनलाइन शिक्षण सहित डिजिटल सामग्रीको प्रयेगलाई व्यापकता दिन सक्षम बनायो । यसले सिकाइ निरन्तरता कायम राख्न मद्दत गर्यो । तर यस्तो गर्न शिक्षकलाई डिजिटल साक्षरता सम्बन्धी तालिम (Digital Literacy Training), कम लागतमा उपलब्ध हुने प्रविधिबारे जानकारी र प्राविधिक समस्या समाधानको लागि स्थानीय स्तरमा सहयोगको आवश्यकता पर्दछ । सीमित इन्टरनेट पहुँच र साधारण मोबाइलबाट पनि कसरी प्रभावकारी सिकाइ प्रदान गर्न सकिन्छ भन्ने बारे प्रशिक्षित गरिनु पर्ने अवस्था छ ।
ग) जीवन उपयेगी सिप र व्यावसायिक सिकाइ (Life Skills and Vocational Learning)
नेपालको आर्थिक संरचना कृषि र घरेलु व्यवसायमा आधारित छ । कतिपय सामुदायिक विद्यालयले “किचन गार्डेन” लाई विज्ञान, गणित र व्यवसायिक शिक्षाको एकीकृत केन्द्र बनाएका छन् । विद्यार्थीहरूले तरकारी उत्पादन, लागत तथा खर्च, बजार मूल्य निर्धारण र विक्री सम्बन्धी सिपहरु त्यसबाट हासिल गर्न सक्छन् । यसले शिक्षालाई रोजगारीमूलक बनाउन सक्ने सम्भावना बढाउँछ । यस्तो अभ्यासका लागि शिक्षकलाई स्थानीय उद्यमीहरूसँग सहकार्य, न्युन लागतका प्रयोगशाला सामग्री र परियोजना कार्यको मूल्याङ्कनका साधन वा तरिकाको आवश्यकता पर्दछ । शिक्षकले “किचन गार्डेन” अन्तर्गत परियोजना कार्यमा विद्यार्थीको सहभागितालाई कसरी मूल्याङ्कन गर्ने? यसका लागि रूब्रिक (Rubrics) र पोर्टफोलियो जस्ता उपकरण (Tools) तयार गरेर उपयोगका लागि शिक्षकलाई प्रशिक्षित गर्न अवश्यक छ ।
घ) सामुदाय स्तरमा परियोजना कार्यमा संलग्नता (Engagement of Community based Project work )
समयसान्दर्भिक शिक्षणको अर्को आयाम भनेको विद्यार्थीलाई स्थानीय समस्या समाधानमा प्रत्यक्ष सहभागी बनाउनु हो । उदाहरण लागि, कुनै विद्यालयले “सफा खानेपानी” को विषयलाई विज्ञान, स्वास्थ्य र सामाजिक अध्ययनसँग जोडेर, विद्यार्थीहरूलाई स्थानीय स्रोतको पानीको गुणस्तर परीक्षण गर्ने साधारण प्रयोग गर्न लगाएको हुन्छ । यसले विद्यार्थीमा नागरिक दायित्वको भावना विकास गर्दछ । यस्ता परियोजनाहरू प्रभावकारी बनाउनका निम्ति शिक्षकलाई अन्तरविषयक (Interdisciplinary) पाठ योजना तयार गर्ने, विषयगत शिक्षाकहरुसँगको सहकार्य‚सामुदायिक व्यक्तित्वहरूसँग समन्वय गर्ने क्षमता र सुरक्षित क्षेत्र भ्रमण (Field Visit) को लागि सिपहरुहरुको अवश्यकता पर्दछ ।
ङ) बहुभाषिक शिक्षण (Multilingual Teaching) को अभ्यास
नेपाल बहुभाषिक र बहुसांस्कृतिक देश हो । सामुदायिक विद्यालयहरूले प्रायः आफ्नो स्थानीय भाषामा अधारभूत शिक्षा दिने अभ्यास गरिरहेको छ । जुन एक प्रकारले समयसान्दर्भिक नै हो, किनभने यसले बालबालिकाको संज्ञनात्मक विकासलाई गति दिन्छ (UNESCO, 2017) । तर पनि अंग्रेजीको विश्वव्यापी दबाबले यसलाई चुनौती दिइरहेको छ । यसका लागि शिक्षकलाई बहुभाषिक शिक्षण सामग्री निर्माण, भाषिक सङ्क्रमणको व्यवस्थापनका सिप र बहुभाषिक कक्षाकोठाको व्यवस्थापनको ज्ञान आवश्यक छ ।
४. शिक्षकका लागि आवश्यक सहयोग
माथिका सन्दर्भहरुका अधारमा विद्यालय तहका शिक्षकहरुले समयसान्दर्भिक शिक्षण क्रियाकलापलाई प्रभावकारी बनाउन उनीहरुलाई विभन्न स्तरबाट सहयोगको आवश्यकता पर्दछ । त्यस खालको सहयोगको ढाँचा बहु-स्तरीय (Multi-Level) हुनुपर्छ । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः
क) नीतिगत र संस्थागत सहयोग (Policy & Institutional Support)
–लचिलो पाठ्यक्रम ढाँचा अपनाउनुपर्दछ । यसका लागि राष्ट्रिय पाठ्यक्रम अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले ऐच्छिक विषयवस्तु (Optional Content) को हिस्सा बढाउनुपर्छ, जसलाई शिक्षकले स्थानीय आवश्यकताअनुसार विषयवस्तु एकीकृत गर्न सकुन् ।
–विद्यालय स्तरीय कोषको व्यवस्था गर्नुपर्दछ । त्यसमा विद्यालय आफैंले योजना बनाई परिचालन गर्न सक्ने गरी रकम उपलब्ध गराउनुपर्छ, जसबाट शिक्षकले स्थानीय स्रोत सामग्री, भ्रमण वा स्रोत शिक्षकको व्यवस्थापन गर्न खर्च पुगोस् ।
–नवीनता ल्याउने शिक्षकलाई पुरस्कार, पदोन्नती वा राष्ट्रिय र स्थानीय स्तरमा मान्यता दिई उत्प्रेरित गर्नुपर्छ । यसले अरू शिक्षकलाई पनि प्रेरित गर्दछ ।
ख पेशागत विकास र प्रशिक्षण (Professional Development & Training)
–परम्परागत व्याख्यान र पावरपोइन्टमा आधारित तालिम भन्दा अभ्यासमूलक (Hands-on) शैक्षिक कार्यशाला हुनुपर्छ । उदाहरणका लागि “कसरी स्थानीय इतिहासलाई सामाजिक अध्ययनसँग जोड्ने?” भन्ने विषयमा शिक्षकले आफ्नै इलाकाको नक्सा, मौखिक इतिहास सङ्कलन गर्ने तरिका सिक्ने अवसर पाउन् ।
–शिक्षकहरूबीच अनुभव आदानप्रदान गर्ने मञ्च (Teacher Learning Circles) स्थापना गर्नुपर्छ। एउटा विद्यालयले गरेको सफल परियोजनाको जानकारी अर्को विद्यालयले सजिलै पाउन सक्ने गरी डिजिटल प्लेटफर्म (जस्तै फेसबुक ग्रुप, साधारण मोबाइल एप) र नियमित स्थानीय बैठकहरू आवश्यक पर्दछन् ।
–शिक्षकलाई कृषि, पर्यटन, सूचना प्रविधि जस्ता विभिन्न विषय क्षेत्रका स्थानीय विशेषज्ञहरूसँग जोड्ने व्यवस्था हुनुपर्छ । ति विशेषज्ञहरूलाई स्रोत शिक्षकको रूपमा ल्याउन सकिन्छ ।
ग) संसाधन र सामग्री सहयोग (Resource & Material Support)
–शिक्षकले सजिलै प्राप्त गर्न र उपयोग गर्न सक्ने गरी डिजिटल सामग्रीहरू (भिडियो, इन्फोग्राफिक्स, पाठ योजना) को एक केन्द्रीय भण्डार हुनुपर्छ । यस्ता सामग्री सकेसम्म शिक्षकहरुको नेतृत्वमा अपसी सहकार्यमार्फत विकास गरिएका र व्यवहारिक हुनु पर्दछ ।
–विज्ञान र प्रविधि शिक्षणका लागि स्थानीय सामग्रीबाट बनाइने र नयून लागतमा प्रयोग गर्न सकिने सामग्री (जस्तैः पानी परीक्षण किट, सरल रोबोटिक किट) उपलब्ध गराउनुपर्छ ।
–सामुदायिक अध्ययन केन्द्र वा पुस्तकालयमार्फः विद्यालयमै स्थानीय इतिहास, औषधीय बिरुवाहरू, परम्परागत कलाको बारेमा सङ्कलन गरिएको “सामुदायिक ज्ञान कोष” हुनुपर्छ । यसलाई विद्यार्थी र शिक्षक दुवैले सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्न सक्छन् ।
घ) सामुदायिक र अभिभावक सहयोग (Community & Parental Engagement)
–अभिभावकहरूलाई सैद्धान्तिक र परम्परागत ज्ञानभन्दा आजको जीवनसँग सम्बन्धित सिकाइको महत्व बुझाउनुपर्छ । अभिभावकको सहभिगतामा विद्यार्थीले गरेका परियोजनाहरुको प्रदर्शनी (Project Exhibition) लगाइएमा अभिभावकको बुझाइ र सकारात्मकता वृद्धि हुन्छ । यसर्थ अभिभावकसँग प्रभावकारी सम्पर्क र भूमिका वृद्धि गर्नुपर्छ ।
–विद्यालयले स्थानीय किसान, नर्स, इन्जिनियर, कलाकारहरूको सूची बनाउनुपर्छ, जसलाई आवश्यकता अनुसार कक्षामा आमन्त्रण गर्न सकिनेछ । यसरी सामुदायका विषयगत विज्ञहरुको परिचालनलाई बढाउनु पर्दछ ।
–सामुदायका शैक्षिक अनुभवी व्यक्तिरूमार्फत पनि कसरी आफ्नो ज्ञान विद्यार्थीलाई रोचक रूपमा सिक्ने सिकाउने बारेमा शिक्षकहरुमा छोटा अवधिका प्रशिक्षण गराउन सकिन्छ ।
ङ) भावनात्मक र मनोसामाजिक सहयोग (Emotional & Psychosocial Support)
समयसान्दर्भिक पाठ योजना बनाउन अतिरिक्त समय लाग्छ । शिक्षकलाई गैर-शिक्षण कार्य (Non-Teaching Duties) को बोझ कम गर्न रचनात्मक र सिर्जनात्मक सिप दिनुपर्छ । यसका लागि भौतिक र अभौतिक सहायतामार्फत कामको बोझ व्यवस्थापन गर्न प्रोत्साहन अवश्यक पर्दछ ।
शिक्षकहरूका लागि सहकर्मी समूहमार्फत अपसी सहयोग हुने वातावरण तयार गर्नुपर्छ, जहाँ नयाँ प्रयासमा आएका चुनौतीहरू छलफल गर्न र समाधान खोज्न सजिले हुन्छ र यसले शिक्षकलाई तनाव कम गर्न मद्दत गर्छ ।
नयाँ कुराको अभ्यास गर्दा असफल पनि हुन सकिन्छ । त्यस्ता शिक्षकलाई दण्डित नगरी, त्यसबाट सिक्न प्रोत्साहन गर्ने वातावरण नीति निर्माण तह तथा विद्यालय प्रशासन स्तरबाट सिर्जना गर्नुपर्छ ।
५. चुनौतीहरूः
समयसान्दर्भिक शिक्षणका चुनैतीहरु निम्नानुसार उल्लेख गर्न सकिन्छः
क)धेरै सामुदायिक विद्यालयमा आधारभूत संरचना, इन्टरनेट र पुस्तकालय लगायतका स्रोत सामग्री र प्रविधिकोकमी छ ।
ख) विद्यालय तहमाBLE, SEE, SLC जस्ता केन्द्रीकृत परीक्षाहरूले परम्परागत मूल्यांकन प्रणालीको पक्षपोषण गरी पाठ्यपुस्तक रट्ने प्रवृतिलाई बढावा दिइरहेको छ, जसले समयसान्दर्भिक शिक्षण परियोजनामा लाग्ने शिक्षक र विद्यार्थीको उत्साह कम गर्न सक्छ ।
ग) शिक्षकहरू धेरै विषय पढाउनु पर्ने, तल्ला तहमा नियुक्ति भएका शिक्षाकले माथिल्ला तहमा धान्नुपर्ने‚ अपर्याप्त तालिम र जबर्जस्ती दिएका जिम्म्वारी भित्र चल्नुपर्ने बाध्यताहरु रहेका छन् । यसले शिक्षकको कार्यबोझ बढाएको छ ।
घ) स्वयम् शिक्षकहरु नै परमपरागत ढाँचाभन्दा फरक ढाँचालाई स्वीकार गर्न हिचकिचाउनु र केही समुदाय र अभिभावकहरूले “पुरानो ढङ्ग” को शिक्षालाई नै उत्तम मान्ने गरेको अवस्था देखिन्छन् । यस्तो परम्परागत सोच र प्रवृत्ति हावी हुँदा नवप्रवर्द्धनात्मक कार्यहरु कम प्राथमिकतामा पर्ने गरेका छन् ।
६. निष्कर्षः
समयसान्दर्भिक शिक्षण क्रियाकलापलाई प्रवर्द्धन गर्ने उपयुक्त माध्यम विद्यालय हुन् । यसको प्रभावकारिताका लागि शिक्षकलाई पर्याप्त सहयोग हुने समग्र ढाँचा (Holistic Support System) अवश्यक पर्दछ । यो सहयोग केवल प्रशिक्षणमा मात्र सीमित नरही नीति, संसाधन, सामुदायिक संलग्नता र भावनात्मक सहयोगसम्म व्यापक हुनुपर्छ । यसका लागि निम्न सझावहरु प्रस्तुत गर्न सकिन्छः
क) पाठ्यक्रमलाई व्यवहारिक रुपमा पूरा गराउने लचिलो दिशानिर्देश (Flexible Guidelines) जारी गर्नुपर्छ, जसमा स्थानीयकरणका लागि २०-३०% ठाउँ दिइएको हुन्छ ।
ख) स्थानीय सरकार (नगरपालिका/गाउँपालिका) ले “शिक्षक नववर्द्धन कोष (Teacher Innovation Fund)” स्थापना गर्नुपर्छ र सामुदायिक विशेषज्ञहरूको डाटाबेस बनाउनुपर्छ ।
ग) शिक्षक प्रशिक्षण संस्थाले अभ्यासमूलक (Practicum-Based) प्रशिक्षणमा जोड दिई, शिक्षाकलाई विद्यालयमै परियोजना आधारित सिकाइ (Project-Based Learning) को डिजाइन गर्न लगाउनुपर्छ ।
घ) शिक्षकका विभिन्न पेशागत समूह र संस्थाहरूले “उत्कृष्ट अभ्यास” (Best Practices) को दस्तावेजीकरण गर्ने र यसलाई अदानप्रदान गर्ने डिजिटल प्लेटफर्मको विकास गर्नुपर्छ ।
ङ) विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूले शिक्षकलाई नयाँ प्रयास गर्न प्रोत्साहन दिएर र समय-समयमा कक्षाकोठामा आएर विद्यार्थीको प्रगति हेरेर सहयोग पुर्याउनुपर्छ ।
अन्त्यमा, सामुदायिक विद्यालयमा समुदायको स्वामित्व छ । यसलाई सही दिशा दिइएमा स्थानीय स्रोत साधन जुटाउन र परिचालन गर्न सजिलो हुन्छ । साथै धेरै स्थानीय संघसंस्था र निकायहरुले शिक्षामा काम गर्दैछन् । यिनिहरु सँगको सहकार्यले स्रोत साधन र विशेषज्ञता सहायता उपलब्ध गराउन सहज हुन सक्ने अवस्था रहेको छ । समयसान्दर्भिक शिक्षण केवल पाठ सिकाउने तरिका होइन । यो एउटा सामाजिक दायित्व हो । नेपालका सामुदायिक विद्यालयहरू यस दायित्वलाई पूरा गर्ने क्षमता राख्छन् । शिक्षकलाई आवश्यक सहयोगको सही ढाँचा प्रदान गर्न सकेमा विद्यालयहरू विद्यार्थीहरूलाई केवल परीक्षा पास गर्ने हैन, आजको जटिल संसारमा उत्कृष्टता हासिल गर्ने, जिम्मेवार नागरिक बन्न र देशको विकासमा योगदान दिन सक्ने सशक्त व्यक्तित्वको रूपमा विकास गराउन सफल हुन्छन् ।
सन्दर्भ सामग्री (References):
- Bhatta, S. (2020). Localizing Education: Practices from Karnali’s Community Schools. Kathmandu: Education and Development Review Nepal.
- MoEST. (2019). National Curriculum Framework for School Education in Nepal. Kathmandu: Ministry of Education, Science and Technology.
- Peko, A. (Ed.). (2005). Contemporary Teaching : Collection of scientific papers. University Josip Juraj Strossmayer in Osijek, Faculty of Philosophy in Osijek.
- Piaget, J. (1973). To Understand is to Invent: The Future of Education. New York: Grossman.
- Shrestha, I. M. (2018). Relevance in Education: Contextualizing Learning for Nepal. Patan: Himalayan Educational Resource Center.
- UNESCO. (2017). Mother Tongue-Based Multilingual Education: Lessons from Nepal. Kathmandu: UNESCO Nepal.



