समयसान्दर्भिक शिक्षण प्रवर्द्धनः अभ्यास‚ चुनौती र सम्भावना

कृष्णप्रसाद ढुङ्गाना

सामुदायिक विद्यालयभित्रको शैक्षिक क्रियाकलाप समयानुकुल नबनेसम्म आम रुपमा शिक्षाको स्तर माथि उठ्न सक्दैन किनभने हाम्रा सामुदायिक विद्यालयहरु सामुदायिक स्वामित्व, सहभागिता र स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर राज्यद्वारा सञ्चालित छन् । तर गतिशील समाज र बदलिँदो सिकाइ आवश्यकताको परिपूर्ति गर्न यिनले समयसान्दर्भिक शिक्षण क्रियाकलाप अपनाउने वातावरण तयार गर्नु नै अहलेको प्रमुख चुनैती हो । यस लेखमा समयसान्दर्भिक शिक्षणको अवधारणा, नेपालका सामुदायिक विद्यालयहरूमा समयसान्दर्भिक शिक्षणको अभ्यास र यसको प्रवर्द्धनका निम्ति शिक्षकलाई आवश्यक पर्ने पेशागत सहयोग सम्बन्धमा विवेचना गर्ने प्रयास गरिएको छ । आफ्नो शिक्षण पेशाको अनुभव र केही सैद्धान्तिक मान्यताहरुलाई समेत संयोजन गरी यो लेख तयार गरिएको छ ।

१. विषय प्रवेशः

हाम्रो शिक्षा प्रणालीले विविध खालका चुनौतीहरू सामना गर्दै आएको छ । सामुदायिक विद्यालयहरूले राज्यको लगानीमार्फत समुदायको संलग्नताबाट शिक्षाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान दिइरहेएका छन् । तर आजको बदलिँदो विश्वमा ज्ञानको प्रकृति र आवश्यक सिपहरू निरन्तर विकसित र फराकिला बन्दैछन् । यसले “समयसान्दर्भिक शिक्षण” को अवधारणा अझ महत्वपूर्ण बन्दै गएको छ ।

समयसान्दर्भिक शिक्षण भन्नाले शैक्षिक क्रियाकलापहरू केवल पाठ्यपुस्तकमा मात्र सीमित नरही वर्तमान समयको सामाजिक, आर्थिक, प्राविधिक र वातावरणीय प्रासङ्गिकतासँग जोडिएर सिकाइ अनुभवलाई यथार्थपरक र जीवनोपयोगी बनाउनु हो (Shrestha, 2018) । यसले विद्यार्थीलाई वर्तमानका समस्या समाधान गर्दै र भविष्यका अवसरहरूको उपयोग गर्न सक्षम बनाउँदछ । नेपालको सन्दर्भमा, ग्रामीण र सहरीक्षेत्रबीच जुन शैक्षिक खाडल छ, त्यसलाई कम गर्न र शैक्षिक बेरोजगारी कम गर्न सामुदायिक विद्यालयहरूले समयसान्दर्भिक शिक्षणलाई एक प्रभावकारी उपकरणका रुपमा प्रयोग गर्न सक्छन् । त्यसका निम्ति शिक्षकलाई के-कस्तो सहयोग चाहिन्छ भन्ने प्रश्नको सेरोफेरोमा यो लेख केन्द्रित छ ।

२. सैद्धान्तिक आधारः

समयसान्दर्भिक शिक्षणको अवधारणा निर्माणवादी (Constructivist) शिक्षण सिद्धान्तसामुदायमा अधारित शिक्षा (Community-Based Education)  जीवन उपयोगी सिप (Life Skills) मा आधारित शिक्षाको संयोजनमा आधारित छ । निर्माणवादी सिद्धान्त अनुसार विद्यार्थीले आफ्नो वास्तविक अनुभवबाट सक्रिय रूपमा नयाँ ज्ञान निर्माण गर्छन् (Piaget, 1973) । विद्यालय यसै सिद्धान्तलाई स्थानीय सन्दर्भमा लागु गर्ने एउटा माध्यम हो । शिक्षा स्थानीय संस्कृति, मुल्य–मान्यता र आवश्यकतासँग जोडिएको हुनुपर्छ । समयसान्दर्भिकताले यसलाई अद्यावधिक बनाउँछ, उदाहरणका लागि समसामयिक सवालहरु‚ जस्तै COVID-19 जस्तो महामारी, जलवायु परिवर्तन, सूचना प्रविधि, स्थानीय रोजगारीका अवसर जस्ता विषयहरू पाठ्यक्रमसँग एकीकृत हुन्छन् ।

नेपालका सामुदायिक विद्यालयहरूले स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घको साझा प्रयासबाट सरकारको राष्टिय नीति र स्थानीय आवश्यकताबीच समन्वयको काम गर्दछन् । यही कारणले गर्दा पनि सामुदायिक विद्यालयमा समयसान्दर्भिक शिक्षण वातावरण तयारीका लागि सम्भावनाहरु छन् । किनकि तिनीहरूले संस्थागत जटिलता भन्दा स्थानीय आवश्यकताका अधारमा रचनात्मकतालाई बढी महत्व दिन सक्छन् ।

३. समयसान्दर्भिक शिक्षण अभ्यासहरूको विश्लेषण

समयसान्दर्भिक शिक्षण (Contemporary Teaching) को अर्थ शिक्षाको परम्परागत स्वरूपमा परिवर्तन ल्याई आधुनिक समयको माग र विद्यार्थीको आवश्यकता अनुसार शिक्षण प्रक्रियालाई अगाडि बढाउनु हो । (Peko, 2005) यसका प्रमुख मान्यताहरु निम्न छन् ।

क) समयसान्दर्भिक शिक्षणले विद्यार्थीलाई सूचनाको निष्क्रिय प्राप्तकर्ताको रूपमा नभई शैक्षिक प्रक्रियामा सक्रिय सहभागीको रूपमा हेर्दछ ।

ख) यसमा शिक्षक केवल ज्ञानको स्रोत मात्र नभएर विद्यार्थीको ज्ञान र वास्तविक संसारबीचको सम्बन्ध जोड्ने सहजकर्ता को रूपमा रहन्छन् ।

ग) यो सिकाईको यस्तो दृष्टिकोण हो जहाँ विद्यार्थीले आफ्नो पुरानो ज्ञान र अनुभवको आधारमा नयाँ ज्ञान आफैं निर्माण गर्दछन् । यसलाई रचनात्मक सिकाई पनि भनिन्छ ।

घ) आधुनिक शिक्षणमा कम्प्युटर, इन्टरनेट र अन्य शैक्षिक प्रविधिहरूको प्रयोगलाई अनिवार्य मानिन्छ जसले सिकाईलाई थप प्रभावकारी बनाउँछ ।

ङ) समयसान्दर्भिक शिक्षाको एउटा मुख्य उद्देश्य विद्यार्थीहरूमा अन्तर-सांस्कृतिक चेतना अभिवृद्धि गरी विभिन्न संस्कृतिप्रति सम्मान, सहिष्णुता बढाउनु र भेदभावको वातावरण अन्त्य गर्नु हो ।

च) यसले विद्यार्थीहरू बीचको व्यक्तिगत प्रतिस्पर्धा भन्दा पनि सामूहिक कार्य (Group work) र जोडी कार्य (Pair work) मार्फत सिक्ने प्रक्रियालाई प्रोत्साहन गरी सहयोगात्मक सिकाईलाई महत्व दिन्छ ।

संक्षेपमा भन्नुपर्दा, समयसान्दर्भिक शिक्षणले केवल पाठ्यपुस्तकको ज्ञान दिने भन्दा पनि विद्यार्थीलाई स्वतन्त्र रूपमा सोच्न, प्रश्न गर्न र समस्या समाधान गर्न सक्षम बनाउने लक्ष्य राख्दछ । हाम्रा सामुदायिक विद्यालयहरुमा समयसान्दर्भिक शिक्षणका केही उल्लेखनीय अभ्यासहरू देखिन्छन्, जसलाई निम्नानुसार विश्लेषण गर्न सकिन्छः। हाम्रा सामुदायिक विद्यालयहरुमा समयसान्दर्भिक शिक्षणका केही उल्लेखनीय अभ्यासहरू देखिन्छन्, जसलाई निम्नानुसार विश्लेषण गर्न सकिन्छः

) स्थानीय सन्दर्भमा पाठ्यक्रम अनुकूलन (Localized of Curriculum Implementation)

धेरै सामुदायिक विद्यालयहरूले राष्ट्रिय पाठ्यक्रमलाई स्थानीय संदर्भमा ढाल्ने प्रयास गरेका छन् । उदाहरणका लागि, पहाडी क्षेत्रका विद्यालयहरूले गणितको पाठ “मापन” लाई स्थानीय अन्न भण्डारणका परम्परागत भाँडो (थुम्से) र मानक एकाइबीच तुलना गरेर पढाउँछन् (Bhatta, 2020)। यसरी स्थानीय जीवनसँग जोडिएर पढाउँदा विद्यार्थीको बुझाइ प्रभावकारी हुन्छ । यस्तो गर्न शिक्षकलाई स्थानीय ज्ञान सङ्कलनका लागि प्राविधिक सहयोग र लचिलो पाठ्यक्रम ढाँचा (Flexible Curriculum Framework) को आवश्यकता पर्दछ । शिक्षकले स्थानीय बुढापाकाहरू, स्थानीय स्तरका विज्ञहरूसँगको अन्तरक्रियाबाट सामग्री सङ्कलन गर्नुपर्ने हुन्छ, जसका लागि समय र स्रोत साधन सुनिश्चत हुनुपर्छ ।

) प्रविधिको एकीकरण (Integration of Technology)

COVID-19 महामारीले सामुदायिक विद्यालयहरूलाई पनि प्रविधिको उपयोगबारे छिटो सोच्न बाध्य बनायो । धेरै विद्यालयलाई रेडियो शिक्षण‚ अनलाइन शिक्षण सहित डिजिटल सामग्रीको प्रयेगलाई व्यापकता दिन सक्षम बनायो । यसले सिकाइ निरन्तरता कायम राख्न मद्दत गर्यो । तर यस्तो गर्न शिक्षकलाई डिजिटल साक्षरता सम्बन्धी तालिम (Digital Literacy Training), कम लागतमा उपलब्ध हुने प्रविधिबारे जानकारी र प्राविधिक समस्या समाधानको लागि स्थानीय स्तरमा सहयोगको आवश्यकता पर्दछ । सीमित इन्टरनेट पहुँच र साधारण मोबाइलबाट पनि कसरी प्रभावकारी सिकाइ प्रदान गर्न सकिन्छ भन्ने बारे प्रशिक्षित गरिनु पर्ने अवस्था छ ।

) जीवन उपयेगी सिप र व्यावसायिक सिकाइ (Life Skills and Vocational Learning)

नेपालको आर्थिक संरचना कृषि र घरेलु व्यवसायमा आधारित छ । कतिपय सामुदायिक विद्यालयले “किचन गार्डेन” लाई विज्ञान, गणित र व्यवसायिक शिक्षाको एकीकृत केन्द्र बनाएका छन् । विद्यार्थीहरूले तरकारी उत्पादन, लागत तथा खर्च, बजार मूल्य निर्धारण र विक्री सम्बन्धी सिपहरु त्यसबाट हासिल गर्न सक्छन् । यसले शिक्षालाई रोजगारीमूलक बनाउन सक्ने सम्भावना बढाउँछ । यस्तो अभ्यासका लागि शिक्षकलाई स्थानीय उद्यमीहरूसँग सहकार्य, न्युन लागतका प्रयोगशाला सामग्री र परियोजना कार्यको मूल्याङ्कनका साधन वा तरिकाको आवश्यकता पर्दछ । शिक्षकले “किचन गार्डेन” अन्तर्गत परियोजना कार्यमा विद्यार्थीको सहभागितालाई कसरी मूल्याङ्कन गर्ने? यसका लागि रूब्रिक (Rubrics) र पोर्टफोलियो जस्ता उपकरण (Tools)  तयार गरेर उपयोगका लागि शिक्षकलाई प्रशिक्षित गर्न अवश्यक छ ।

) सामुदाय स्तरमा परियोजना कार्यमा ंलग्नता (Engagement of Community based Project work )

समयसान्दर्भिक शिक्षणको अर्को आयाम भनेको विद्यार्थीलाई स्थानीय समस्या समाधानमा प्रत्यक्ष सहभागी बनाउनु हो । उदाहरण लागि, कुनै विद्यालयले “सफा खानेपानी” को विषयलाई विज्ञान, स्वास्थ्य र सामाजिक अध्ययनसँग जोडेर, विद्यार्थीहरूलाई स्थानीय स्रोतको पानीको गुणस्तर परीक्षण गर्ने साधारण प्रयोग गर्न लगाएको हुन्छ । यसले विद्यार्थीमा नागरिक दायित्वको भावना विकास गर्दछ । यस्ता परियोजनाहरू प्रभावकारी बनाउनका निम्ति शिक्षकलाई अन्तरविषयक (Interdisciplinary) पाठ योजना तयार गर्ने, विषयगत शिक्षाकहरुसँगको सहकार्य‚सामुदायिक व्यक्तित्वहरूसँग समन्वय गर्ने क्षमता र सुरक्षित क्षेत्र भ्रमण (Field Visit) को लागि सिपहरुहरुको अवश्यकता पर्दछ ।

) बहुभाषिक शिक्षण (Multilingual Teaching) को अभ्यास

नेपाल बहुभाषिक र बहुसांस्कृतिक देश हो । सामुदायिक विद्यालयहरूले प्रायः आफ्नो स्थानीय भाषामा अधारभूत  शिक्षा दिने अभ्यास गरिरहेको छ । जुन एक प्रकारले समयसान्दर्भिक नै हो, किनभने यसले बालबालिकाको संज्ञनात्मक विकासलाई गति दिन्छ (UNESCO, 2017) । तर पनि अंग्रेजीको विश्वव्यापी दबाबले यसलाई चुनौती दिइरहेको छ । यसका लागि शिक्षकलाई बहुभाषिक शिक्षण सामग्री निर्माण, भाषिक सङ्क्रमणको व्यवस्थापनका सिप  बहुभाषिक कक्षाकोठाको व्यवस्थापनको ज्ञान आवश्यक छ ।

४. शिक्षकका लागि आवश्यक सहयोग

माथिका सन्दर्भहरुका अधारमा विद्यालय तहका शिक्षकहरुले समयसान्दर्भिक शिक्षण क्रियाकलापलाई प्रभावकारी बनाउन उनीहरुलाई विभन्न स्तरबाट सहयोगको आवश्यकता पर्दछ । त्यस खालको सहयोगको ढाँचा बहु-स्तरीय (Multi-Level) हुनुपर्छ । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

) नीतिगत र संस्थागत सहयोग (Policy & Institutional Support)

–लचिलो पाठ्यक्रम ढाँचा अपनाउनुपर्दछ । यसका लागि राष्ट्रिय पाठ्यक्रम अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले ऐच्छिक विषयवस्तु (Optional Content) को हिस्सा बढाउनुपर्छ, जसलाई शिक्षकले स्थानीय आवश्यकताअनुसार विषयवस्तु एकीकृत गर्न सकुन् ।

–विद्यालय स्तरीय कोषको व्यवस्था गर्नुपर्दछ । त्यसमा विद्यालय आफैंले योजना बनाई परिचालन गर्न सक्ने गरी रकम उपलब्ध गराउनुपर्छ, जसबाट शिक्षकले स्थानीय स्रोत सामग्री, भ्रमण वा स्रोत शिक्षकको व्यवस्थापन गर्न खर्च पुगोस् ।

–नवीनता ल्याउने शिक्षकलाई पुरस्कार, पदोन्नती वा राष्ट्रिय र स्थानीय स्तरमा मान्यता दिई उत्प्रेरित गर्नुपर्छ । यसले अरू शिक्षकलाई पनि प्रेरित गर्दछ ।

पेशागत विकास र प्रशिक्षण (Professional Development & Training)

–परम्परागत व्याख्यान र पावरपोइन्टमा आधारित तालिम भन्दा अभ्यासमूलक (Hands-on) शैक्षिक कार्यशाला हुनुपर्छ । उदाहरणका लागि “कसरी स्थानीय इतिहासलाई सामाजिक अध्ययनसँग जोड्ने?” भन्ने विषयमा शिक्षकले आफ्नै इलाकाको नक्सा, मौखिक इतिहास सङ्कलन गर्ने तरिका सिक्ने अवसर पाउन् ।

–शिक्षकहरूबीच अनुभव आदानप्रदान गर्ने मञ्च (Teacher Learning Circles) स्थापना गर्नुपर्छ। एउटा विद्यालयले गरेको सफल परियोजनाको जानकारी अर्को विद्यालयले सजिलै पाउन सक्ने गरी डिजिटल प्लेटफर्म (जस्तै फेसबुक ग्रुप, साधारण मोबाइल एप) र नियमित स्थानीय बैठकहरू आवश्यक पर्दछन् ।

–शिक्षकलाई कृषि, पर्यटन, सूचना प्रविधि जस्ता विभिन्न विषय क्षेत्रका स्थानीय विशेषज्ञहरूसँग जोड्ने व्यवस्था हुनुपर्छ । ति विशेषज्ञहरूलाई स्रोत शिक्षकको रूपमा ल्याउन सकिन्छ ।

) संसाधन र सामग्री सहयोग (Resource & Material Support)

–शिक्षकले सजिलै प्राप्त गर्न र उपयोग गर्न सक्ने गरी डिजिटल सामग्रीहरू (भिडियो, इन्फोग्राफिक्स, पाठ योजना) को एक केन्द्रीय भण्डार हुनुपर्छ । यस्ता सामग्री सकेसम्म शिक्षकहरुको नेतृत्वमा अपसी सहकार्यमार्फत विकास गरिएका र व्यवहारिक हुनु पर्दछ ।

–विज्ञान र प्रविधि शिक्षणका लागि स्थानीय सामग्रीबाट बनाइने र नयून लागतमा प्रयोग गर्न सकिने सामग्री (जस्तैः पानी परीक्षण किट, सरल रोबोटिक किट) उपलब्ध गराउनुपर्छ ।

–सामुदायिक अध्ययन केन्द्र वा पुस्तकालयमार्फः विद्यालयमै स्थानीय इतिहास, औषधीय बिरुवाहरू, परम्परागत कलाको बारेमा सङ्कलन गरिएको “सामुदायिक ज्ञान कोष” हुनुपर्छ । यसलाई विद्यार्थी र शिक्षक दुवैले सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्न सक्छन् ।

) सामुदायिक र अभिभावक सहयोग (Community & Parental Engagement)

–अभिभावकहरूलाई सैद्धान्तिक र परम्परागत ज्ञानभन्दा आजको जीवनसँग सम्बन्धित सिकाइको महत्व बुझाउनुपर्छ । अभिभावकको सहभिगतामा विद्यार्थीले गरेका परियोजनाहरुको प्रदर्शनी (Project Exhibition) लगाइएमा अभिभावकको बुझाइ र सकारात्मकता वृद्धि हुन्छ । यसर्थ अभिभावकसँग प्रभावकारी सम्पर्क र भूमिका वृद्धि गर्नुपर्छ ।  

–विद्यालयले स्थानीय किसान, नर्स, इन्जिनियर, कलाकारहरूको सूची बनाउनुपर्छ, जसलाई आवश्यकता अनुसार कक्षामा आमन्त्रण गर्न सकिनेछ । यसरी सामुदायका विषयगत विज्ञहरुको परिचालनलाई बढाउनु पर्दछ ।

–सामुदायका शैक्षिक अनुभवी व्यक्तिरूमार्फत पनि कसरी आफ्नो ज्ञान विद्यार्थीलाई रोचक रूपमा सिक्ने सिकाउने बारेमा शिक्षकहरुमा छोटा अवधिका प्रशिक्षण गराउन सकिन्छ ।

) भावनात्मक र मनोसामाजिक सहयोग (Emotional & Psychosocial Support)

समयसान्दर्भिक पाठ योजना बनाउन अतिरिक्त समय लाग्छ । शिक्षकलाई गैर-शिक्षण कार्य (Non-Teaching Duties) को बोझ कम गर्न रचनात्मक र सिर्जनात्मक सिप दिनुपर्छ । यसका लागि भौतिक र अभौतिक सहायतामार्फत कामको बोझ व्यवस्थापन गर्न प्रोत्साहन अवश्यक पर्दछ ।

शिक्षकहरूका लागि सहकर्मी समूहमार्फत अपसी सहयोग हुने वातावरण तयार गर्नुपर्छ, जहाँ नयाँ प्रयासमा आएका चुनौतीहरू छलफल गर्न र समाधान खोज्न सजिले हुन्छ र यसले शिक्षकलाई तनाव कम गर्न मद्दत गर्छ ।

नयाँ कुराको अभ्यास गर्दा असफल पनि हुन सकिन्छ । त्यस्ता शिक्षकलाई दण्डित नगरी, त्यसबाट सिक्न प्रोत्साहन गर्ने वातावरण नीति निर्माण तह तथा विद्यालय प्रशासन स्तरबाट सिर्जना गर्नुपर्छ ।

५. चुनौतीहरू

समयसान्दर्भिक शिक्षणका चुनैतीहरु निम्नानुसार उल्लेख गर्न सकिन्छः

क)धेरै सामुदायिक विद्यालयमा आधारभूत संरचना, इन्टरनेट र पुस्तकालय लगायतका स्रोत सामग्री र प्रविधिकोकमी छ ।

ख) विद्यालय तहमाBLE, SEE, SLC जस्ता केन्द्रीकृत परीक्षाहरूले परम्परागत मूल्यांकन प्रणालीको पक्षपोषण गरी पाठ्यपुस्तक रट्ने प्रवृतिलाई बढावा दिइरहेको छ, जसले समयसान्दर्भिक शिक्षण परियोजनामा लाग्ने शिक्षक र विद्यार्थीको उत्साह कम गर्न सक्छ ।

ग) शिक्षकहरू धेरै विषय पढाउनु पर्ने, तल्ला तहमा नियुक्ति भएका शिक्षाकले माथिल्ला तहमा धान्नुपर्ने‚ अपर्याप्त तालिम र जबर्जस्ती दिएका जिम्म्वारी भित्र चल्नुपर्ने बाध्यताहरु रहेका छन् । यसले शिक्षकको कार्यबोझ बढाएको छ ।

घ) स्वयम् शिक्षकहरु नै परमपरागत ढाँचाभन्दा फरक ढाँचालाई स्वीकार गर्न हिचकिचाउनु र केही समुदाय र अभिभावकहरूले “पुरानो ढङ्ग” को शिक्षालाई नै उत्तम मान्ने गरेको अवस्था देखिन्छन् । यस्तो परम्परागत सोच र प्रवृत्ति हावी हुँदा नवप्रवर्द्धनात्मक कार्यहरु कम प्राथमिकतामा पर्ने गरेका छन् ।

६. निष्कर्षः

समयसान्दर्भिक शिक्षण क्रियाकलापलाई प्रवर्द्धन गर्ने उपयुक्त माध्यम विद्यालय हुन् । यसको प्रभावकारिताका लागि शिक्षकलाई पर्याप्त सहयोग हुने समग्र ढाँचा (Holistic Support System) अवश्यक पर्दछ । यो सहयोग केवल प्रशिक्षणमा मात्र सीमित नरही नीति, संसाधन, सामुदायिक संलग्नता र भावनात्मक सहयोगसम्म व्यापक हुनुपर्छ । यसका लागि निम्न सझावहरु प्रस्तुत गर्न सकिन्छः

क) पाठ्यक्रमलाई व्यवहारिक रुपमा पूरा गराउने लचिलो दिशानिर्देश (Flexible Guidelines) जारी गर्नुपर्छ, जसमा स्थानीयकरणका लागि २०-३०% ठाउँ दिइएको हुन्छ ।

ख) स्थानीय सरकार (नगरपालिका/गाउँपालिका) ले “शिक्षक नववर्द्धन कोष (Teacher Innovation Fund)” स्थापना गर्नुपर्छ र सामुदायिक विशेषज्ञहरूको डाटाबेस बनाउनुपर्छ ।

ग) शिक्षक प्रशिक्षण संस्थाले अभ्यासमूलक (Practicum-Based) प्रशिक्षणमा जोड दिई, शिक्षाकलाई विद्यालयमै परियोजना आधारित सिकाइ (Project-Based Learning) को डिजाइन गर्न लगाउनुपर्छ ।

घ) शिक्षकका विभिन्न पेशागत समूह र संस्थाहरूले “उत्कृष्ट अभ्यास” (Best Practices) को दस्तावेजीकरण गर्ने र यसलाई अदानप्रदान गर्ने डिजिटल प्लेटफर्मको विकास गर्नुपर्छ ।

ङ) विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूले शिक्षकलाई नयाँ प्रयास गर्न प्रोत्साहन दिएर र समय-समयमा कक्षाकोठामा आएर विद्यार्थीको प्रगति हेरेर सहयोग पुर्याउनुपर्छ ।

अन्त्यमा, सामुदायिक विद्यालयमा समुदायको स्वामित्व  छ । यसलाई सही दिशा दिइएमा स्थानीय स्रोत साधन जुटाउन र परिचालन गर्न सजिलो हुन्छ । साथै धेरै स्थानीय संघसंस्था र निकायहरुले शिक्षामा काम गर्दैछन् । यिनिहरु सँगको सहकार्यले स्रोत साधन र विशेषज्ञता सहायता उपलब्ध गराउन सहज हुन सक्ने अवस्था रहेको छ ।  समयसान्दर्भिक शिक्षण केवल पाठ सिकाउने तरिका होइन । यो एउटा सामाजिक दायित्व हो । नेपालका सामुदायिक विद्यालयहरू यस दायित्वलाई पूरा गर्ने क्षमता राख्छन् । शिक्षकलाई आवश्यक सहयोगको सही ढाँचा प्रदान गर्न सकेमा विद्यालयहरू विद्यार्थीहरूलाई केवल परीक्षा पास गर्ने हैन, आजको जटिल संसारमा उत्कृष्टता हासिल गर्ने, जिम्मेवार नागरिक बन्न र देशको विकासमा योगदान दिन सक्ने सशक्त व्यक्तित्वको रूपमा विकास गराउन सफल हुन्छन् ।

सन्दर्भ सामग्री (References):

  1. Bhatta, S. (2020). Localizing Education: Practices from Karnali’s Community Schools. Kathmandu: Education and Development Review Nepal.
  2. MoEST. (2019). National Curriculum Framework for School Education in Nepal. Kathmandu: Ministry of Education, Science and Technology.
  3. Peko, A. (Ed.). (2005). Contemporary Teaching : Collection of scientific papers. University Josip Juraj Strossmayer in Osijek, Faculty of Philosophy in Osijek.
  4. Piaget, J. (1973). To Understand is to Invent: The Future of Education. New York: Grossman.
  5. Shrestha, I. M. (2018). Relevance in Education: Contextualizing Learning for Nepal. Patan: Himalayan Educational Resource Center.
  6. UNESCO. (2017). Mother Tongue-Based Multilingual Education: Lessons from Nepal. Kathmandu: UNESCO Nepal.

Read more post .......

प्रमुख दलका चुनावी घोषणा पत्रमा शिक्षा

नेपालका प्रमुख राजनीतिक दलहरूका चुनावी घोषणा पत्रहरूलाई शिक्षाको दार्शनिक आधारमा विश्‍लेषण गर्दा समाजवाद (मार्क्सवाद), प्रयोजनवाद (Pragmatism), आदर्शवाद (Idealism) र यथार्थवाद

Read More »

अनुभवः कोभिड संक्रमणको जोखिम र बैकल्पिक सिकाइको अभ्यास २०७७

कोभिड संक्रमणको जोखिमका कारण सबै शैक्षिक क्रियाकलापहरु ठप्प भएसँगै विद्यालयले सुरक्षित तरिकाहरु अपनाउँदै सञ्चालन गरेका वैकल्पिक सिकाइका मुख्य गतिबिधि सम्बन्धमा

Read More »

आन्तरिक मूल्याङ्कन प्रक्रिया : नेपाली (कक्षा ४–८)

आधारभूत तह (कक्षा ४–८) नेपाली विषयको आन्तरिक मूल्याङ्कन प्रक्रिया सम्बन्धी जानकारी लिन र मुल्याङ्कन अभिलेख फारामको लागि तलको Link मा

Read More »
Scroll to Top