शैक्षिक नेतृत्व: केही मौलिक अभ्यास

.

शिक्षण पेशाको लामो समय एउटै विद्यालयमा वित्यो । आफ्नै गाउँ, आफ्नै ठाउँ अनि आफ्नै समुदायसँग । यसबाट एउटा शैक्षिक संस्थामा विभिन्न समयमा आइपर्ने विभिन्न परिस्थितिबारे विविध अनुभव प्राप्त गर्ने अवसर पनि प्राप्त भयो । तत्कालिन समयमा विद्यालय लाई निमावि हुँदै मावि बनाउने अभियानमा समुदायको अग्रसरता चलिरहँदा कतिपयले बिना जागिर, बिना कुनै व्यक्तिगत अपेक्षा आर्थिक, भौतिक र मानसिक रुपमा परिचालित भएर काम गरिरहेको देख्दा आफुले पनि केही केही प्रयास त गर्नै पर्छ भन्ने उत्प्रेरणा बढाउँदै लग्यो । निरन्तर विद्यालयको विभिन्न प्रशासनिक र शैक्षिक कार्यमा संलग्न हुँदै जाँदा त्यसले आफ्नो पेशागत क्षमता विकासमा पनि निकै मद्दत पुगेको महसुस हुन्छ । जागिरे जिम्मेवारीभित्र आर्थिक लाभको कुरा मात्र हुँदैन, समुदायप्रतिको जिम्मेवारी र आफ्नो क्षमता विकास, व्यक्तिगत पहिचान र कामको आत्म सन्तुष्टि पनि बोकेको हुन्छ । आखिर यहि नै जीवनको उत्तरार्धसम्म पाएको मुख्य कमाइ हो, यसमा नै शिक्षकले सबैभन्दा ठुलो गर्व गर्नुपर्दछ । पछिल्लो पाँच वर्ष (बि.सं. २०७४–२०७९) प्रधानाध्यापकको भूमिकामा रहँदा विद्यालयका लागि रणीनिक र कार्यनीतिक योजना सहित जे जति काम गरियो, त्यसमा केही आन्मसन्तुष्टि पनि छ र अझै गर्नुपर्ने धेरै कुराहरु गर्न बाँकी रहेको अनुभूति पनि छन् ।

.

तेर्से माध्यमिक विद्यालयका शैक्षिक क्षेत्रमा काम गर्नेहरुका लागि उपयोगी प्रेरणादायक सन्दर्भहरु धेरै छन् । व्यक्तिगत रुपमा योगदान गर्नेहरुको चर्चा गर्नैपर्ने विषयपनि धेरै छन् । विभिन्न समयमा विभिन्न हिसाबले विद्यालयका निम्ति आर्थिक देखि भौतिक र अभौतिक रुपमा दिलोज्यान दिने धेरै स्थानीयहरु छन् । उहाँहरको बारेमा छुट्टै चर्चा गरौंला । यद्यपी विद्यालयको शैक्षिक स्थितिमा तुलात्मक रुपमा राम्रो हुँदै जानुका केही सन्दर्भलाई मात्र यहाँ व्यक्तिगत अनुभव र त्यसको सिकाइलाई केही मात्रामा उल्लेख गर्न चाहेको मात्र हो ।

.

हरेक मानिसका विगत आफ्नैखालका हुन्छन् । कसैले जागिरे जीवनमा निर्वाह गरेका भूमिका योगदान हुँदैनन्, ति सबै जिम्मेवारी हुन् । त्यसैले जागिरे जीवनमा संलग्न हरेक सिर्जनात्मक र रचनात्मक काम र प्रयत्नलाई योगदानको रुपमा नलिई त्यसलाई अनुभवको रुपमा मात्र बुझेको छु । जुन कुरा कसैका निम्ति केही प्रेरणादायी पनि हुन सक्छन्, केही अनुकरणयोग्य पनि हुन सक्लान् केही अनावश्यक गन्थनमात्र पनि हुन सक्छ । यो व्यक्ति विशेषमा भर पर्ने कुरा हो किनकी हरेक विषयलाई जसले कुन कोणबाट हेर्छ, उसले त्यही रुपमा प्राप्त गर्दछ । विद्यालयको शैक्षिक सुधारको परिणाम तत्काल देखिँदैन । निरन्तरको प्रयत्न र अभ्यासले विस्तारै त्यसको परिणाम देखिँदै जान्छ । यसका लागि धैर्यतापूर्वक प्रयत्नहरु जारी राख्नुपर्ने हुनछ । विद्यालयको शैक्षिक स्तरमा क्रमिक सुधारका रचनात्मक आधारको रुपमा रहेका केही मौलिक अभ्यासलाई यहाँ प्रस्तुत गरिएको छ ।

.

स्रोत अनुसारको सोच हैन, सोच अनुसार स्रोतको खोजी
विद्यालय कक्षा ५ सम्म चलेको ३ वटा दरबन्दनदी समुदायको चाहनाले कक्षा १२ सम्म पठनपाठन गराएको त्यसमाथी अंग्रेजी र नेपाली दुई माध्यममा सञ्चालन भएकोले शिक्षकको धेरै संख्या निजीस्रोतमा व्यवस्थापन गर्नुपर्ने सधैं न समयमा तलब न अतिरिक्त कामको अतिरिक्त सुबिधा । तेर्सेको इतिहासमा करिब सधैं नै यो मुख्य चुनौती नै हो । जहाँ चुनौती हुन्छ, त्यहाँ समाधानको लागि बढी चिन्तन हुन्छ । त्यसैले समुदायबाट सहयोग संकलन, अभिभावकबाट सहयोग शुल्कको माध्यमबाट यसको खाडलपुर्ने प्रयत्नहरु निरन्तर चलिरहेका छन् । केही नयाँ गर्ने सोच बनाएपछि त्यसका लागि कुनै न कुनै तरिकाले सहयोग गर्नेहरु भेटिन्छन् भन्ने अनुभव छ । काम गर्न पैसा छैन भन्ने भन्दा पनि काम गर्दै जाउँ पक्कै कतैबाट व्यवस्थापन होला भन्ने मान्यताले सुरुमा कामको योजना अनि त्यसका लागि स्रोतको खोजी गर्ने रणनीति विद्यालय लिँदै आएको छ ।

.

शिक्षकहरुको आउने जाने क्रम बढी हुनाले जनशक्तिमा अस्थिरताको चुनौती ः
प्रस्तावित विद्यालयमा शिक्षकहरु लामो समय रहिरहन नसक्ने अवस्था स्वभाविक रहेछ । किनकी पेशागत स्थायित्वका निम्ति वैकल्पिक अवसरको खोजी स्वभाविक हो । यस्तो अवस्थामा विद्यालय प्रशासनको मुख्य ध्यान शिक्षकको व्यवस्थानमा लगाइरहनुपर्ने अर्कोतिर विद्यार्थीमा शिक्षण शैलीले पार्ने अन्योलता । यसले प्रशासनिक काम थप बोझिलो स्वभाविक बन्ने रहेछ । विद्यालय प्रशासनले सामना गर्नुपर्ने चुनौती र समस्याहरुलाई सबै शिक्षक कर्मचारीले नजिकबाट बुझ्ने अवस्था रहेकोले पनि टिमवर्कको लागि आधार बनिरहेको छ । अर्को कुरा शिक्षकको व्यवस्थापन गर्दा आन्तरिक रुपमा नियमित पठनपाठनमा प्रभाव नपर्ने गरी फाष्ट ट्रयाक बाट व्यवस्थापन गर्ने कुरामा पनि प्राथिमकता रहने गर्दछ । २०७५ सालमा एकै वर्षमा नौ जनासम्म शिक्षक व्यवस्थापन गर्दा पनि अघिल्ला वर्षको तुलनामा विद्यार्थीको सिकाइ उपलब्धीमा कुनै प्रभाव परेन । कतिपय अवस्थामा शिक्षक संख्या कम हुँदा अतिरिक्त जिम्मेवारी लिएर पनि शिक्षकहरु काम गर्न तयार हुनु र अतिरिक्त काममा अतिरिक्त सुबिधा बिना पनि काम गर्न तयार हुनु एउटा सकारात्मक पक्ष हो ।

.

विद्यालयहरुबीचको अस्वस्थ प्रतिश्पर्धाको चुनौती
तेर्से खासगरी आवश्यककता भन्दा बढी रहरले सञ्चालित विद्यालय । परिवर्तित समय सन्दर्भमा अभिभावकका चाहना अनुसार शैक्षिक संस्थालाई सञ्चालन गर्नुपर्छ भन्ने मान्यता सहित चलाउन खोजिएको । समुदायको सहभागिताले विद्यालयका कामलाई थप जवाफदेही बनाउँछ । अनिमात्र त्यसले समुदायको चाहनालाई सम्बोधन गर्नुपर्छ भन्ने मान्यतामा चल्छ । त्यसैले जागिरको तहबाट चलिरहेका विद्यालयहरुका निम्ति कहिलेकाहीँ अस्वस्थ प्रतिश्पर्धा जस्तो पनि देखिनु स्वभाविक हुँदो रहेछ । तैपनि त्यसलाई चुनौतिको रुपमा नलिइ औसत विद्यालयले गर्ने भन्दा थप नयाँ कसरी गर्न सकिन्छ र त्यसबाट अभिभावकमा विश्वास कसरी बढाउन सकिन्छ भन्ने कुरामा ध्यान दिँदै केही नयाँ गर्नुपर्छ र फरक गर्नुपर्छ भन्ने मान्यताले तेर्सेमा निरन्तर डोर्याइरहेको अवस्था अहिलेसम्म पनि छ ।

.

अभिभावकको लगानीले सिर्जना गरेको जिम्मेवारी
राज्यको नीति निशुल्क शिक्षा भए पनि सरकारमार्फत प्राप्त हुने विद्यालयको आर्थिक स्रोतको अवस्थाले अभिभावकसँग सहयोगको याचना गर्न विद्यलय बाध्य छ । अभिभावकले सहयोग नगर्ने हो भने अहिले जुन हिसाबले चलेको छ, त्यो सम्भव नै छैन । थप नयाँ तरिका त परै छोडौं । अभिभावकले गरेको लगानीले विद्यालयलाई अभिभावकप्रति जिम्मेवार बनाउन थप बाध्यता सिर्जना गरेको छ । त्यसका लागि पनि विद्यालय कसरी फरक तरिकाले कसरी चल्ने भनेर चिन्तन निरन्तर जरुरी बन्दो रहेछ र त्यही अनुसार नै चलेको छ । अभिभावकले गरेको आर्थिक सहयोगलाई सकेसम्म मितव्ययी बनाउने प्रयत्न गर्दा सहयोगको वातावरण बन्ने रहेछ ।

.

शिक्षक कर्मचारीको नियमितता
शिक्षकको नियमितताका लागि विद्यालयले बि.सं. २०७४ देखि इ–हाजिरी पूर्ण रुपमा लागु गर्यो । यो कसैलाई अंकुश लगाउन भन्दा पनि शिक्षक कर्मचारीको विद्यालयमा हुने सिकाइ संलग्नतालाई पारदर्शी बनाउने उद्देश्यले हो । शिक्षक कर्मचारीको हाजरीको लागि रजिष्टरको प्रयोग नगरी डिजिटल हाजिरी नै आधिकारीक हाजिरी बनाइयो । जस अनुसार वर्षभरीमा बढी हाजिरी हुने शिक्षकलाई वार्षिकोत्सवमा सम्मान गर्ने गर्दा शिक्षकको कम हुने प्रवृत्ति स्वतः कम हुँदै गयो । यसबाट कक्षाकोठामा शिक्षकले बिताउने समय बढ्दै गयो । सकारात्मक पक्षलाई प्राथमिकता दिँदै जाने हो भने नकारात्मक पक्षको व्याख्या गरेर निराशा बढाउने काम स्वतः कम हुन्छ र सबैमा सकारत्मक उर्जा विकास गर्दै जान्छ । सकारात्मक व्यवहारको संस्कार बसेपछि प्रणाली आफैं बलियो हुन्छ ।

.

अभिभावकसँगको सहकार्य
अभिभावकबाट सहयोग प्राप्त गर्न अभिभावक सँग सम्पर्क र सम्बन्ध आवश्यक पर्दछ । अभिभावकलाई विद्यालयमा आइसकेपछि मैले विद्यालयबाट यस्तो सूचना, जानकारी वा सिकाइ प्राप्त गरेँ भन्ने कुराको प्रत्याभुति दिइएन भने पटक पटक अभिभावक विद्यालय नआउने अवस्था सिर्जना हुन्छ । त्यसकारण अभिभावकलाई विद्यालयमा समय समयमा बोलाउने र बोलाएपछि सम्बन्धित विद्यार्थी र विद्यालयका बारे पर्याप्त सूचना दिने, छलफल र अन्तक्र्रिया गर्ने गर्दा अभिभावकहरु विद्यालयको अनुरोधलाई स्वीकार गर्न तत्पर हुन्छन् । विद्यालयका छलफल र अन्तक्र्रियामा आवश्यकता अनुसार सहभागी पनि हुन्छन् । बेलाबेला अभिभावकहरुले भन्ने गरेको कुरा ‘पढाइ राम्रो होस् , हामी परेको पैसा तिर्न तयार छौं ।’ भन्ने अभिव्यक्तिले उर्जा पनि मिल्दो रहेछ । त्यसरी प्राप्त सहयोगले जिम्मेवारीबोध पनि बढाउने रहेछ । त्यो वातावरण वहनाउने काम विद्यालयकै हो । अर्को पक्षबाट केही सहयोग प्राप्त गर्न आफुले पनि केही त्याग गर्नुपर्दछ भन्ने मान्यताले राम्रो काम गर्ने रहेछ । विद्यालयको विभिन्न विभागीय जिम्मेवारी, तल्लो तहमा नियुक्ति भएका शिक्षकले माथिल्लो तहमा पढाउँदा लगायतको अतिरिक्त जिम्मेवारी बापत कुनै अतिरिक्त सुबिधा नलिई शिक्षकहरुले काम गरेको कुराले पनि अभिभावकलाई सहयोगको लागि वातारवण बन्दो रहेछ । तर यसका लागि विद्यालयको यथार्थ अवस्था अभिभावकलाई जानकारी हुनुपर्दछ ।

..
भूकम्प र बाढी पछिको नियमित पठनपाठन
२०७२ सालको भूकम्पका कारण विद्यालय ध्वस्त हुँदा तत्काल अस्थायी संरचनाहरु तयार गरेर जेठ दोश्रो हप्ताबाट नै पठनपाठन सुरु गरिएको थियो । यस भेगमा सबैभन्दा पहिले पठनपाठन गर्ने विद्यालय तेर्से नै हो । त्यसै गरी २०७८ को बाढीले विद्यालय जोखिमपूर्ण अवस्थामा हुँदा पनि अस्थायी संरक्षणसँगै पढाइको लागि तत्काल वातावरण तयार गर्ने काम भयो । त्यो वर्ष पनि वार्षिक रुपमा विद्यालय खुल्ने र पढाइ हुने दिनमा कमी हुन पाएन । यसर्थ जस्तोसुकै असहज अवस्थामा पनि विद्यार्थीको सिकाइलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने मान्यता हिजोदेखि अहिलेसम्म छ । यसले विद्यालयको शैक्षिक स्तर उकास्न निकै काम गरेको छ ।.

.

कोभिड समयको वैकल्पिक सिकाइ अभ्यास
कोभिडको समयमा विद्यालयले गरेको वैकल्पिक सिकाइ सहजीकरणको प्रक्रिया धेरै शैक्षिक संस्थाका लागि अनुकरणीय रह्यो । त्यसले सिकाइमा थप सुधार त खासै ल्याएन तर सिकाइ क्षति न्यूनिकरण गर्न भने ठुलो मद्दत गरेको छ । त्यस समयमा समुदायमा आधारित भइ शिक्षकले गरेका क्रियाकलाप उल्लेख्य र प्रशंसनीय रह्यो । यद्यपी त्यतिबेला सुरक्षाको साबधानी अपनाएर र राज्यको मापदण्ड पालना गरेरै गरिएको सिकाइ सहजीकरणका क्रियाकलापहरुमाथी पनि स्थानीय प्रशासनमा गलत उजुरी दिएर विव्यस अध्यक्ष र प्र.अ.लाई इलाका प्रहरी कार्यालयमा स्पष्टिकरणका लागि बोलाउने सम्मका पनि काम नभएका होइनन् । यद्यपी जिम्मेवार ढङ्गले गर्ने कामका निम्ति विद्यालयको निरन्तरता रोकिएन । कोभिड समयको प्रयासहरु स्थानीय स्तरमा मात्र हैन राष्ट्रिय स्तरमा समेत प्रशंसायोग्य बनेका कारण विद्यालयलाई यसले सकारात्मक उर्जा बढाउँदै लग्यो ।

.

अस्थायी र स्थायी छात्राबास
विभिन्न रुपको छात्राबासको अवधारणा तेर्सेको इतिहासमा २०६८ सालदेखि हो । तर नगरपालिकाको सहयोगमा १८ कोठे छात्राबास निर्माण भएर २०७८ देखि छात्राबासले संस्थागत रुप लिएको हो । बिचमा भाडाका घरमा, अस्थायी टेन्ट लागायत विभिन्न तरिका अपनाइएको थियो । यद्यपी कक्षा १० का लागि भने एसइइ तयारीको लागि सुरुमा अभिभावको खर्च गर्ने तत्परता नहुँदा २०६८ मा २ जना विद्यार्थीबाट सुरु गरिएकोमा २०७९ मा आइपुग्दा अभिभावको विश्वास यतिसम्म पुग्यो कि कक्षा १० मा भण्डै शतप्रतिशत विद्यार्थी केही महिना विद्यालयमै रहेर एसइइ तयारी गर्ने अवस्थामा र अभिभावकहरु पनि सबैले आवश्यक आर्थिक स्रोतको व्यवस्थापन गर्न तत्पर रहेको अवस्था देखियो । छात्राबासमा रहेर काम गर्ने शिक्षकहरुको लगनशीलताले यो सम्भव भएको हो । यसले नतिजा सुधारका लागि र विद्यार्थीलाई पढ्ने बानी विकास गर्न निकै सहज भएको छ । अहिले टाढाबाट आउने कक्षा १० सहित अन्य कक्षाका स्थायी छात्राबास भवनमा र कक्षा १० का भने वर्षको पछिल्लो केही महिना विद्यालयमै केही कोठा व्यवस्थापन गरेर एसइइको तयारीको गर्ने नीतिका कारण नतिजा सुधारमा थप मद्दत पुगेको छ । छात्राबास विद्यार्थी आवासका निम्ति मात्र हैन, सिकाइ वातावरण निर्माणमा पनि उत्तिकै केन्द्रित हुनुपर्दछ । त्यहाँको शैक्षिक वातारण ठीक भएन भने विकृतिका जोखिक पनि उत्तिकै छ । त्यसैले विद्यार्थीमा सिक्ने बानीको विकास गर्ने कुरामा केन्द्रित रही त्यसको कार्यबिधि बनाएर सञ्चालन गर्नु महत्वपूर्ण पक्ष हो ।

.

आधारभूत तहको सिकाइ सुधार
एसइइ वा आधारभूत तह उत्तीर्ण परीक्षामा मात्र नतिजा खोजेर अर्थ रहँदैन । तल्लो तहमा पाठ्यक्रम अनुसार विद्यार्थीमा हुनुपर्ने सिकाइका लागि नियमित छलफल गर्ने, कक्षाकोठाको शैक्षणिक क्रियाकलापको साझा ढाँचा अबलम्बन गर्ने, कक्षाकोठामा शिक्षकले बिताउने समय पर्याप्त बनाउने जस्ता कुराहरुमा निरन्तर ध्यान दिन आवश्यक छ । जुन कुरा तेर्सेले सधैं छलफलको विषय बनाउने गरेको छ । समग्र विद्यालयको शैक्षिक क्रियाकलाप दुईवटा पक्षमा केन्द्रित गर्ने रणनीति अपनाउँदै आएको छ । पहिलो परीक्षाको नतिजा सुधार दोश्रो सिर्जनात्मक क्रियाकलापमा विद्यालयको क्रियाशिलता । यसबाट समग्र सिकाइ सुधारमा थप मद्दग पग्दै गएको अवस्था छ ।

.

वर्षिक पढाइ हुने दिनमा वृद्धि
अन्य विद्यालयमा वर्षे विदा हुँदा तेर्सेमा विद्यालय चलिरहेको हुन्छ । वर्षभरीमा १५ दिन भन्दा बढी लगातार बिदा नहोस् भन्ने नीति हो । जसमा वर्षे विदा १५ दिनमा सिमित छ । त्यो बाहेक दशैं बिदा १५ दिन नत्र त्यो भन्दा लामो विदा हुन्न । विद्यालय सञ्चालन हुने दिन बृद्धि हुँदा शिक्षकले विद्यार्थीसँग बिताउने समय बढी हुन्छ र सिकाइ समय वृद्धि भइ सिकाइमा सुधार हुन मद्दत गर्दछ । वर्षे विदामा शिक्षकलाई न्यूनतम सुबिधा अभिभावकमार्फत प्राप्त स्रोतबाट उपलब्ध गराएर वार्षिक विद्यालय खुल्ने दिन २६० दिन भन्दा माथी बनाउने काम विगत चारवर्षदेखि हुँदै आएको छ । सार्वजनिक बिदामा बीचका दिनहरुलाई पनि विद्यार्थीको सहभागिता उत्तिकै बनाउने गरी प्रयास हुँदै आएको छ । साथसाथै कक्षा शिक्षकहरुलाई नतिजा तयारी लगायतका कामले कक्षाकोठाको सिकाइ प्रभाव नपरोस् भनेर कामलाई छिटो छरितो बनाउन प्रबिधिमैत्री उपायहरु अबलम्बन गर्दै आएको छ ।

.

निरन्तर चिन्तन र नयाँ नयाँ अभ्यास
शैक्षिक संस्थामा बिबिध क्षमता भएका विद्यार्थी र शिक्षकहरु हुन्छन् । विद्यार्थीलाई उसको व्यक्तिगत क्षमता अनुसार सिकाइमा प्रोत्साहन गर्नुपर्ने हुन्छ भने शिक्षकलाई उसको क्षमता क्षमता अनुसारको जिम्मेवारीमा क्रियाशिल गराउनु पर्ने हुन्छ । सिकाइ र नतिजा सुधार्ने यो सबैभन्दा उत्तम तरिका हो । यसका लागि काम गर्नु गराउनुभन्दा पहिला नेतृत्वले धेरै सोच बिचार र रणनितिक योजना चाहिन्छ । यस खालको प्रयत्न तेर्सेको इतिहासमा निकै भएको छ । विद्यालयका गतिबिधि राम्रो बनाउन नयाँ नयाँ सोच विकास गर्ने र त्यसको कार्यान्वयनका लागि नेतृत्वसँग दुई प्रकारको योजना आवश्यक पर्छ । एउटा रणनीतिक योजना, अर्को कार्ययोजना । जुन कुरामा तेर्से अभ्यस्त छ । नयाँ प्रयत्न नगरी नयाँ उपलब्धी हासिल हुन्न । त्यसको लागि समसामयिक विषयमा चिन्तन आवश्यक छ । त्यसको चुनौती पनि उत्तिकै छ । चुनौती वा जोखिम भित्र नै सफलता लुकेको हुन्छ । त्यहि मान्यतामा रहेर नयाँ अवधारणाहरु सोच्ने र प्रयोग गर्ने अभ्यास आवश्यक पर्दछ ।

.

त्रैमासिक परीक्षा र पृष्ठपोषण ः
सिकाइ परीक्षाकेन्द्रित भन्दा जीवनकेन्द्रित हुनुपर्छ भन्ने मान्यता छ । तर हाम्रो सन्दर्भमा विगतदेखिको अभ्यास हेर्ने हो भने परीक्षामा राम्रो गर्ने भन्ने कुराले विद्यार्थीको सिकाइ इच्छालाई प्रभाव पारेको हुन्छ । यो व्यवहारिक पक्षलाई हेरेर समग्र अभ्यास भर्षभरीमा २ वटा त्रैमासिक र एउटा वार्षिक परीक्षा सको अभ्यास छ । यद्यपी तेर्सेको सन्दर्भमा हेर्ने हो भने विगत ५।६ वर्ष देखि त्रैमासिक रुपमा ३ वटा परीक्षा सञ्चालन गर्ने र विद्यार्थीको स्तरीकरण गर्ने अभ्यास गरिएको छ । यसबारेमा विगतदेखि नै पालिकास्तरमा एकरुपता नगरी आफुखुशी गरेको भनेर केही आलोचना पनि नभएका हैनन् । तर केही राम्रो बनाउन केही थप काम गर्नै पर्दछ । लक्ष्य र उदेश्यमा केन्द्रित भएर सकारात्मक सुधारका लागि गरिने प्रयत्नमा केही आलोचना भए पनि निरन्तर अगाडी बढ्न छोड्नु हुन्न भन्ने मान्यता अनुसार गरिएको प्रयास नतिजा सुधारका लागि महत्वपूर्ण आधारको रुपमा रह्यो । नियमित विद्यार्थीको मुल्यांकन र पृष्ठपोषणले सिकाइमा निकै पद्दत गर्दछ ।

.

शिक्षक कर्मचारीको क्षमता विकास र शैक्षणिक नेतृत्व
विद्यालयको नेतृत्वसँग शैक्षणिक बिधि र प्रक्रिया, पाठ्यक्रम तथा मुल्याङ्कन प्रणाली, शिक्षकको एक्काइसौं शताब्दिको सीप, कक्षाकोठाको व्यवस्थापन, कक्षा क्रियाकलाप ढाँचा, प्रबिधि, संस्थागत सहकार्य र समन्वय आदि बारेमा पर्याप्त जानकारी क्षमता हुनुपर्दछ । तेर्सेको सन्दर्भमा हेर्ने हो भने विभिन्न बौद्धिक स्तरका व्यक्तित्वसँग सहकार्य गर्ने अवसर हुनु, अन्य क्षेत्रमा रहेको नमूना विद्यालयका नेतृत्वसँग सहकार्य हुनु जस्ता कुराले त्यहाँबाट प्राप्त सिकाइका आधारमा गरिएका अभ्यासले विद्यार्थीको सिकाइलाई सुधारात्मक बाटोमा लैजान मद्दत पुगेको छ । सूचनाप्रबिधिको माध्यमबाट सिकाइ सामग्रीको उपलब्धता, प्रशासनिक कामलाई प्रविधिसँग जोड्दै शिक्षकको सक्रियता कक्षाकोठामा बढाउने, शिक्षकहरुको क्षमता विकास जस्ता कुरामा विद्यालयको सक्रियताले सिकाइ सुधारमा मद्दत पुगेको छ ।

.

निश्कर्षमा भन्नुपर्दा विद्यालयभित्र दिगो शैक्षिक वातारवण निर्माण गर्ने मुख्य भूमिका शिक्षकको हो । शिक्षकहरुको पनि शिक्षक प्रधानाध्यापक हो । प्रधानाध्यापक र शिक्षकहरुको समूहले नै अन्य सरोकारवालाहरुलाई विभिन्न रुपमा परिचालित गर्ने हो । त्यसका लागि एकतावद्ध प्रयास र एक अर्काबीचको सकारात्ममक भावना महत्वपूर्ण हुन्छ । विद्यार्थी मात्र हैन अभिभावक र समुदायलाई परिचालित गर्न पनि शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । शिक्षक आफैं पनि सिकारु बन्नुपर्छ । विद्यालयको नेतृत्व पनि आफु सिक्दै अरुलाई सिक्नका लागि पे्ररित गर्ने खालको हुनुपर्दछ । इच्छाशक्ति नै सबैभन्दा ठुलो आधार हो । विद्यालयको सिकाइ वातारणलाई समयानुकुल परिवर्तन गर्दै लैजानु र सिकाइको दिगो वातावरण कायम राख्न निरन्तर चुनौती छ । यस्ता चुनौतीलाई ध्यानमा राखेर विद्यालयका सरोकारवाला पक्षहरु क्रियाशिल भइरहनु पर्दछ ।

.

समग्र विद्यालय शिक्षामा हेर्ने हो भने जबसम्म शिक्षकले अभिभावक, विद्यार्थी, समुदायमाथी गुनासो गर्र्ने अवस्था रहन्छ तब सम्म विद्यालयको शैक्षिक क्रियाकलापलाई गुणस्तरीय बनाउन सकिँदैन । त्यसैले शिक्षकले अरु पक्षमाथी हैन आफैंमाथी पहिला हेर्नुपर्दछ, स्वमूल्यांकन गर्नुपर्दछ । अरुको आलोचनालाई स्वमूल्यांकनको आधार बनाउन सक्नुपर्दछ । सबै पक्षलाई उचित ढंगले क्रियाशिल बनाउन शिक्षकहरुले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । आवश्यक रणनीति बनाउनु पर्दछ । अल्पकालिन र दीर्घकालिन सोच सहितको कार्ययोजना बनाउनु पर्छ त्यसैको आधारमा सबै पक्षकलाई डोर्याउनु पर्दछ । अन्य पक्षले शिक्षकमाथी विश्वास गर्नुपर्छ र मर्यादा पनि दिनुपर्दछ । अनि मात्र विद्यालयको सिकाइ निरन्तर सुधार सम्भव छ ।


कृष्णप्रसाद ढुङ्गाना
पूर्व प्र.अ. एवं शिक्षक
, श्री तेर्से मा.वि. मेलम्ची ६

Read more post .......

प्रमुख दलका चुनावी घोषणा पत्रमा शिक्षा

नेपालका प्रमुख राजनीतिक दलहरूका चुनावी घोषणा पत्रहरूलाई शिक्षाको दार्शनिक आधारमा विश्‍लेषण गर्दा समाजवाद (मार्क्सवाद), प्रयोजनवाद (Pragmatism), आदर्शवाद (Idealism) र यथार्थवाद

Read More »

अनुभवः कोभिड संक्रमणको जोखिम र बैकल्पिक सिकाइको अभ्यास २०७७

कोभिड संक्रमणको जोखिमका कारण सबै शैक्षिक क्रियाकलापहरु ठप्प भएसँगै विद्यालयले सुरक्षित तरिकाहरु अपनाउँदै सञ्चालन गरेका वैकल्पिक सिकाइका मुख्य गतिबिधि सम्बन्धमा

Read More »

आन्तरिक मूल्याङ्कन प्रक्रिया : नेपाली (कक्षा ४–८)

आधारभूत तह (कक्षा ४–८) नेपाली विषयको आन्तरिक मूल्याङ्कन प्रक्रिया सम्बन्धी जानकारी लिन र मुल्याङ्कन अभिलेख फारामको लागि तलको Link मा

Read More »
Scroll to Top