विद्यालयमा नैतिक शिक्षा : ‘विषय’ कि ‘विषयवस्तु’ ?

विद्यालय तहमा नैतिक शिक्षा विषयको बारेमा बेलाबेला निकै बहस हुने गर्दछ । यसलाई अलग्गै विषयको रुपमा सिकाइनु पर्दछ भन्ने एकथरीको तर्क छ भने अर्को थरीको यसलाई अलग्गै विषयको रुपमा नभइ शिक्षकले हरेक विषयसँग जोडेर सिकाइ गर्नुपर्छ भन्ने तर्क छ । यसै आधारमा यहाँ नैतिक ‘विषय’ कि ‘ विषयवस्तु’ भनेर विषय उठान गरिएको हो ।

जब नैतिक शिक्षालाई विद्यालय पाठ्यक्रममा अलग विषयको रूपमा समावेश गरिन्छ, यो ‘विषय’ बन्छ । यसमा विद्यार्थीलाई नैतिक मूल्य, आदर्श, र नैतिक व्यवहारबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान सिकाइन्छ । जस्तै, धार्मिक शिक्षा, नागरिक शास्त्र, वा सामाजिक शिक्षा भित्र ‘नैतिक शिक्षा’ स्वतन्त्र विषयका रूपमा पढाइने गरिन्छ । अर्को हिसाबले हेर्दा जब नैतिकता अरू विषयहरू जस्तै भाषा, विज्ञान, गणित) मा एकिकृत गरेर सिकाइन्छ । यो ‘विषयवस्तु’ हुन्छ । त्यतिबेला नैतिक शिक्षालाई समग्र शिक्षाको अंग बनाउँछ, जहाँ कुनै पनि विषयले नैतिक मूल्यको शिक्षा दिन सक्दछ । नेपालीमा नैतिक कथा समावेश गर्नु, विज्ञानमा वातावरणीय संरक्षणको महत्व सिकाउनु, गणितमा इमान्दार हिसावकिताबको अवधारणा सम्बन्धी समस्या समाधान गराउनु नैतिक विषयवस्तु हो ।

शिक्षाको मुख्य उद्देश्य व्यक्तिको चरित्र निर्माण गर्नु हो । चरित्र निर्माणका लागि नैतिक मुल्यहरु सिकाइनु पर्दछ । त्यस्ता विषय कसरी सिकाउने भन्ने कुरा शिक्षकमा भर पर्ने सवाल हो । यदि विद्यालयले विशिष्ट रूपमा विद्यार्थीको चरित्र निर्माण र नैतिकता विकासलाई मुख्य प्राथमिकता दिन्छ भने, यसलाई विषयको रूपमा समावेश गरेर सिकाउन सकिन्छ । तर, नैतिकता समग्र शिक्षाको अभिन्न अंगका रूपमा लिइन्छ भने यसलाई विषयवस्तुको रूपमा समावेश गर्न सकिन्छ र हरेक विषयसँग जोडेर सिकाउन सकिन्छ । नैतिक शिक्षालाई अलग विषयका रूपमा प्रस्तुत गर्ने वा अरू विषयसँग जोड्ने भन्ने कुरा शिक्षा प्रणाली र पाठ्यक्रमको सिद्धान्तमा भरपर्ने विषय हो । अलग विषय वा विषयवस्तु जुन रुपमा पनि पाठ्यक्रम विकास हुन सक्छ । विषय कसरी समावेश गर्ने भन्दा पनि सिकाइलाई कसरी प्रभावकारी रुपमा जोड्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

समग्रमा भन्नुपर्दा नैतिक शिक्षा विषय र विषयवस्तु दुवै हो । अलग विषयका रूपमा यसले गहिरो ज्ञान दिन्छ, भने विषयवस्तुको रूपमा यसले अन्य विषयहरूसँग सम्बन्धित सन्दर्भहरूमा नैतिकताका मूल्यहरू जोड्छ । आदर्श शिक्षाका लागि यी दुवै दृष्टिकोण उत्तिकै उपयोगी छन् ।

नैतिक शिक्षालाई अलग विषयका रूपमा एउटा विषयमा मात्र सिमित गर्नु उपयुक्त नहुन सक्छ । कक्षाकोठामा नैतिक शिक्षाको विषयवस्तुलाई एकिकृत गरेर शिक्षण गर्न विभिन्न सिर्जनात्मक र व्यवहारिक विधिहरू प्रयोग गर्न सकिन्छ । अन्य विषयका पाठ्यक्रमसँगै जीवनका महत्वपूर्ण नैतिक मूल्यहरू समावेश गरेर सिकाइ प्रभावकारी बनाउने केही उपायहरू निम्न छन् ः

१. विषयगत पाठ्यक्रमसँग नैतिक शिक्षालाई सम्बन्धित बनाउने ः
हरेक विषयमा पाठ पढाउँदा कथा र उदाहरणहरू प्रयोग गरेर त्यसलाई नैतिक मूल्यसँग जोड्न सकिन्छ । जस्तै, ‘अहिंसा’ लाई महात्मा गान्धीको जीवनबाट सिकाउनु, ‘इमान्दारी’ लाई अब्राहम लिंकनको कथामार्फत प्रस्तुत गर्नु, गणित, का व्यावहारिक समस्यालाई नैतिक निर्णयको दृष्टिकोणबाट विश्लेषण गर्न प्रेरित गर्नु, समाजशास्त्रमा समस्याहरूलाई विवेकपूणर्् व्यवहारको दृष्टिकोणबाट विश्लेषण गर्न प्रेरित गर्नु आदि तरिकाहरु अपनाएर विषयगत पाठ्यक्रमसँग नैतिक शिक्षालाई जोड्न सकिन्छ ।

२. कक्षाकोठामा गरिने क्रियाकलापहरुमा समावेश गर्ने ः
समूह कार्य र परियोजनाहरू सञ्चालन गर्दा विद्यार्थीहरूलाई समूहमा काम गर्न लगाएर सहकार्य, आदर, र समानता जस्ता मूल्य सिकाउन सकिन्छ । जस्तैः समूहमा पोस्टर बनाउने कामबाट पर्यावरण जोगाउनको निम्ति सामुहिक प्रयास आवश्यकताको सन्देश दिलाउन सकिन्छ । भूमिका अभिनय र खेल मार्फत नैतिक विषयहरूमा आधारित चरित्रहरुको भूमिका खेल्न लगाएर विद्यार्थीलाई व्यवहारिक अनुभव दिन सकिन्छ । आलोचनात्मक सोच र छलफलमार्फत विद्यार्थीहरूलाई कुनै सामाजिक वा नैतिक मुद्दामा बहस गराउन सकिन्छ । जस्तै ः ‘धेरै पैसा कमाउने वा समाजको सेवा गर्ने’ विषयमा तर्क प्रस्तुत गर्न लगाउन सकिन्छ ।

३. दैनिक कक्षा अनुशासनमा नैतिक मुल्यलाई एकिकृत गर्ने ः
विद्यार्थीहरूसँगै कक्षाकोठाका नियमहरू निर्माण गरी इमान्दारीता, आदर, र जिम्मेवारीलाई प्राथमिकता दिन सकिन्छ । विद्यार्थीहरूको नैतिक व्यवहार जस्तै, साथीलाई गरेको सहयोगको प्रशंसा गरेर सकारात्मक दृष्टान्त प्रस्तुत गर्न सकिन्छ र त्यसप्रति प्रेरित गर्न सकिन्छ ।

४. श्रव्यदृष्य सामग्री र प्रबिधिको प्रयोग
हरेक विषयमा प्रस्तुत गरिने श्रव्यदृष्य सामग्रीलाई नैतिक मूल्य झल्काउने एनिमेटेड भिडियो, चित्रकथा, र वृत्तचित्र देखाएर विद्यार्थीहरूको चासो बढाउन सकिन्छ । विभिन्न अनलाइन साधनहरूमार्फत नैतिक मूल्यहरूको अभ्यास गराउन सकिन्छ ।

५. बाहिरी गतिविधिहरूलाई कक्षामा समावेश गराउने ः
सामुदायिक सेवा सम्बन्धी परियोजनामार्फत विद्यार्थीहरूलाई स्थानीय समुदायमा स्वयंसेवकको रुपमा काम गर्ने आवर दिन सकिन्छ । जस्तै, स्कुल परिसर, टोल सरसफाइ अभियान, सार्वजनिक स्थलको सरसफाई आदिमा संलग्न गराउन सकिन्छ । विद्यार्थीले समुदायमा अरुलाई गरेका सहयोग उनीहरुको भूमिकालाई कथा, दैनिकी जस्ता सिर्जनात्मक लेखनमार्फत विद्यार्थीहरूलाई आफ्ना अनुभव प्रस्तुत गर्न लगाउन सकिन्छ ।

६. नैतिक निर्णयका लागि विभिन्न अभ्यास गराउने
विद्यार्थीलाई जटिल परिस्थिति दिनु, जहाँ उनीहरूले आफूले गर्ने निर्णयको आधारमा प्रस्तुत गर्न लगाउन सकिन्छ । विभिन्न कथा पढेपछी पात्रहरुको चरित्र विश्लेषण जस्ता अभ्यासहरु गराउन सकिन्छ । जस्तैः ‘तिमीले साथीले गलत काम गरेको देख्यौ भने के गथ्र्यौ ?’

७. शिक्षकले आफुलाई रोलमोडलको रूपमा प्रस्तुत गर्ने ः
शिक्षकले आफ्नै व्यवहार र निर्णयबाट नैतिक शिक्षाको उदाहरण दिनुपर्छ । जस्तै, विद्यार्थीहरूसँग आदरका साथ बोल्ने र आफ्नो कर्तव्यमा इमान्दार भएर प्रस्तुत हुने आदि कुराहरु महत्वपूर्ण हुन्छन् ।

८. नियमित आत्म–मूल्याङ्कन र विश्लेषण ः
बेलाबेलामा विद्यार्थीलाई आफ्नो मूल्यांकन आफैंले गर्ने अवसर दिनुपर्दछ । विद्यार्थीहरूले आफ्नो व्यवहार र निर्णयको समीक्षा गर्न लगाउन सकिन्छ । जस्तैः आज मैले के सिके, र यसले मलाई राम्रो मान्छे बन्न कसरी मद्दत गर्छ?’ जस्ता कुराहरुमा स्वयं जिज्ञासा सिर्जना गराउन सकिन्छ । त्यसैगरी विभिन्न परामर्श कक्षामार्फत विद्यार्थीहरूलाई चुनौतीपूर्ण परिस्थितिहरूमा निर्णय गर्न र अनुकुलन हुन मार्गदर्शन गराउन सकिन्छ ।

नैतिक शिक्षालाई कक्षाकोठामा एकीकृत गर्दा यो केवल अतिरिक्त पाठ्यक्रम नभई प्रत्येक विषयको आधार बन्न पुग्दछ । यसले विद्यार्थीहरूलाई केवल शैक्षिक सफलता मात्र नभई जिम्मेवार, संवेदनशील र चरित्रवान् नागरिक बन्न सहयोग गर्छ ।

नैतिक शिक्षालाई विभिन्न विषयसँग प्रभावकारी रूपमा जोड्नका लागि समेत निम्न रणनीतिहरू अपनाउन सकिन्छः

१. भाषा (नेपाली र अंग्रेजी) ः
नैतिक कथाहरू समावेश गर्ने ः पाठ्यक्रममा नैतिकता झल्काउने कथाहरू समावेश गर्न सकिन्छ, जस्तै इमान्दारी, करुणा, सहिष्णुता, सद्भाव आदि ।
रचनात्मक लेखन कार्य ः विद्यार्थीहरूलाई नैतिक मूल्यहरू समेटेर निबन्ध, कथा, र कविताहरू लेख्न प्रेरित गर्न सकिन्छ ।
बहस, अन्तरक्रिया र संवाद ः सामाजिक र नैतिक मुद्दाहरूमा विद्यार्थीहरूलाई बहस गर्न लगाएर तर्क गर्न सिकाउन सकिन्छ ।

२. सामाजिक शिक्षा
इतिहास र संस्कृतिका पाठ ः विभिन्न ऐतिहासिक पात्रहरूको नैतिक आचरण, निर्णय र व्यवहारलाई उदाहरणका रूपमा प्रस्तुत गरी त्यसको प्रभावलाई प्रस्तुत गर्न सकिन्छ ।
सामाजिक समस्याहरूः विद्यार्थीहरूलाई वर्तमान सामाजिक समस्याहरू (जस्तै भ्रष्टाचार, लिंग समानता) मा छलफल गर्न, त्यसको प्रभाव लेखाजोखा गर्ने क्रियाकलाप गराउन सकिन्छ ।

३. विज्ञान
जैविक नैतिकता (Bioethics) सँग सम्बन्धित विषयवस्तुहरु जस्तै पर्यावरण संरक्षण, जिवजन्तु अधिकार, र जैविक अनुसन्धानका नैतिक पक्षबारे छलफल गराउन सकिन्छ । प्राकृतिक स्रोतहरूको उपयोग गर्दा स्रोतहरूको न्यायपूर्ण र दिगो उपयोग, भावी सन्ततिको हितबारे विद्यार्थीहरूलाई सचेत गराउन सकिन्छ ।

४. गणित ः
दैनिक जीवनका गणितीय समस्याहरूमा अन्तरसम्बन्धित गराई असल कारोबार, साझेदारी र सहकार्यको महत्व गणितीय समस्याहरूबाट सिकाउन सकिन्छ । गणितीय समस्या हल गर्दा उपयुक्त चरणहरु पूरा गर्नुलाई नैतिक पक्षसँग जोडेर प्रस्तुत गर्न सकिन्छ ।
तथ्यांक विश्लेषण र प्रश्तुतीकरण गर्दा सामाजिक मुद्दाहरु सम्बन्धी तथ्याकहरू (जस्तै शिक्षा, गरिबी) विश्लेषण गरेर नैतिक जिम्मेवारीबारे ज्ञान सिकाउन सकिन्छ ।

५. कला र संगीत
सिर्जनात्मक सामग्रीहरु तयार गर्ने र प्रस्तुत गर्ने क्रममा नैतिकता झल्कने गीतहरू, नाटक, र चित्रकलाको माध्यमबाट विद्यार्थीहरूको संवेदनशीलता र जिम्मेवारीबोध बढाउन सकिन्छ । त्यसैगरी समूह कार्य गराउँदा कला र संगीतका परियोजनाहरूमा समूह सहयोगमार्फत सहिष्णुता, सहकार्य र सहयोग आदानप्रदानको अभ्यास गराउन सकिन्छ । जसले नैतिक चरित्र निर्माणमा मद्दत पुर्याइरहेको हुन्छ ।

६. शारीरिक शिक्षा
खेलकुदमा इमान्दारी, सहकार्य, र सम्मानका महत्व सिकाएर सामुहिक भावना विकास गर्न सकिन्छ । व्यक्तिगत र सामुहिक स्वास्थ्य र सुरक्षाको अवधारणाका आधारमा नैतिक पक्षमा विद्यार्थीलाई ध्यानाकर्षण गराउन सकिन्छ ।

७. सूचना प्रबिधि र प्राविधिक शिक्षा
डिजिटल नैतिकतासम्बन्धी विषयवस्तुको माध्यमबाट इन्टरनेट प्रयोगका नियम, साइबर सुरक्षा, र जिम्मेवार डिजिटल नागरिकताको महत्व सिकाउन सकिन्छ । प्रबबिधिक विषयवस्तुको सिकाइ परियोजना कार्यमा आधारित सिकाइभएकोले यस्ता क्रियाकलाप गराउँदा समाजलाई फाइदा पु¥याउने खालका प्राविधिक समाधानहरू सिर्जना गरेर नैतिक चरित्र र नेतृत्वको अभ्यास गराउन सकिन्छ ।

बालबालिकामा नैतिक विषयवस्तुको ज्ञान तथा सीप विकास गर्न छुट्टै विषयका रुपमा भन्दा सबै विषयमा एकिकृत गरेर हरेक विषयको शिक्षण सिकाइको क्रममा नैतिक मुल्य सँग अन्तरसम्बनिधत गराइयो भने यसबाट चौतर्फी विकासको निम्ति सहयोग गपुग्दछ । विभिन्न धर्म र दर्शनहरूले सिकाएका मूल्यहरूको तुलनात्मक अध्ययन गराएर हाम्रो सहिष्णुता र बहुसांस्कृतिकतालाई सम्मान गर्दै असल सामाजिक चरित्र विकास गराउन सकिन्छ । सामुदायिक सेवाका कार्यहरुमा विद्यार्थीहरूलाई सहभागी गराएर विषयगत सिकाइसँगै नैतिक मूल्यहरूको व्यवहारिक उपयोग गर्न सिकाउन सकिन्छ ।

यसरी विषयगत शिक्षामा नैतिक मूल्यहरू समावेश गर्नका लागि शिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ । यसका लागि शिक्षकमा विद्यार्थीलाई व्यवहारिक रूपमा यी मूल्यहरू आत्मसात् गर्न प्रोत्साहन गर्ने उपयुक्त कला, सीप र वातावरण निर्माण गर्न आवश्यक छ ।

धन्यवाद

कृष्णप्रसाद ढुङ्गाना
श्री तेर्से मा.वि., मेलम्ची, सिन्धुपाल्चोक

Read more post .......

शिक्षकका लागि उपयोगी TIP, SARP, LoCOS फारामहरु

विद्यार्थीकाे सिकाइ सुधारका लागि शिक्षकले अपनाउने विभिन्न योजनाहरु मध्ये शिक्षण सुधार योजना (Teaching Improvement Plan-TIP), विद्यार्थी उपलब्धी अभिवृद्धि योजना (Student’s

Read More »

प्रमुख दलका चुनावी घोषणा पत्रमा शिक्षा

नेपालका प्रमुख राजनीतिक दलहरूका चुनावी घोषणा पत्रहरूलाई शिक्षाको दार्शनिक आधारमा विश्‍लेषण गर्दा समाजवाद (मार्क्सवाद), प्रयोजनवाद (Pragmatism), आदर्शवाद (Idealism) र यथार्थवाद

Read More »

अनुभवः कोभिड संक्रमणको जोखिम र बैकल्पिक सिकाइको अभ्यास २०७७

कोभिड संक्रमणको जोखिमका कारण सबै शैक्षिक क्रियाकलापहरु ठप्प भएसँगै विद्यालयले सुरक्षित तरिकाहरु अपनाउँदै सञ्चालन गरेका वैकल्पिक सिकाइका मुख्य गतिबिधि सम्बन्धमा

Read More »
Scroll to Top