कहिलेकाहीँ जीवन सानो कोठामा थुनिन्छ
जुन कोठाले न घाम चिन्छ, न गन्ध।
त्यहीँ थिई ऊ कसैको आवाज बिना,
संसार एउटा झ्यालपारिको दृश्य बन्यो,
जहाँ उसले आफैंलाई बिर्सिएको महसुस गरि..
उसका सपना निद्राहीन थिए,
र उसको हाँसो कुनै पुरानो डायरीमा थन्किएको थियो
लामो समयसम्म ऊ एउटा अँध्यारो कोठाभित्र हराइरही!
जहाँ घाम पस्दैनथ्यो, र घडीहरू मौन हुन्थे।
भित्ताहरू उसका निःशब्द चिच्याहटको साक्षी बनेका थिए,
रातहरू उसका आँसुसँग सुस्केराले थकित भएका थिए।
उसको आँखामुनि मात्र होइन,
उसको मनभित्र पनि कालो घेरा जमेको थियो।
न किताब बोल्थे, न सपना बोल्थे।
जीवन केवल एउटा स्थिर तस्बिर बनेर रह्यो
जहाँ हरेक दिन, हरेक रात उही थियो, उही खालि।
तर एक बिहान, चुपचाप भित्रैबाट केही फुट्यो
त्यो न आँसु थियो, न आवाज
त्यो केवल इच्छा थियो।
इच्छा, फेरि किताब खोल्ने।
इच्छा, फेरि आफूलाई सम्झिने।
इच्छा, फेरि उज्यालोमा फर्किने।
अहिले ऊ झ्यालमुनि बस्छे, किताब अँगालेर।
कलम उसका औंलामा फिर्ता आएको छ।
उसको आँखा अब अँध्यारो होइन,
जुन दिन हराएको थियो, त्यही उज्यालो खोजिरहेछ
यो पुनः जन्म हो
फेरि जन्मिएको बिहानि
ऊ अघि बढिरहेकी छ।
ढिलो सही, तर भित्रि मन बाट !
ऊ अरू कोही होइन, ऊ म नै हु !
एक अँध्यारो कोठाबाट उज्यालोतिर फर्किंदै !

-सुकृति ढुंगाना



